भद्रपुर । नेपाली कांग्रेसका नेता तथा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सरकारमा रहेको नेपाली कांग्रेससंग सल्लाह नगरी नेकपा माओवादी केन्द्रले विपक्षमा रहेको पार्टीसंग मिलेर अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगका प्रमुख लाेकमान सिंह कार्की विरूद्ध महाअभियोग प्रस्ताव ल्याएको भन्दै आक्रोस पोखेका छन् ।
बुधवार जिल्ला प्रशासन कार्यलय झापाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै मन्त्री बुढाथोकीले यस्तो आक्रोस पोखेका हुन् ।
उनले नेपाली कांग्रेस महाअभियोग प्रस्तावको विपक्षमा नरहेको भन्दै सरकारमा सँगै रहेको पार्टीसंग सल्लाह नगरि गरिएको प्रस्ताव मा भने आपत्ती रहेको बताए ।
उनले भने,’ सरकार चाहीँ सँगै चलाउने तर यति ठूलो विषयमा हामीलाई थाहै नदिने यो कस्तो षडयन्त्र हो ?’
मन्त्री बुढाथोकीले सरकारमा नभएको पार्टीसंग गुपचुप सल्लाह गरेर महाअभियोग प्रस्ताव ल्याइएको भन्दै सरकार फुटाउन खोजिएको आरोप समेत लाए ।
उनले भने, ‘लोकमान विवादित मान्छे हो तर उसले आफ्ना भनाइ राख्न पाउनु पर्छ,खेदेको खेदै गर्नु हुँदैन ।’
कार्यक्रममा बोल्दै उनले संसदीय समितिले लोकमानको सबै कुरा छानविन गरेर निस्कर्ष निस्किएपछि कांग्रेसले मतदान गर्ने बताए ।
उनले पार्टीका एकदुइ जान प्रखर वक्ताहरूलाई उचाल्दैमा पार्टीले नटेर्ने धारणा समेत राखे । मंगलबार संसदमा स्वास्थ्य मन्त्री तथा कांग्रेसका नेता गगन थापाले दिएको मन्तव्यप्रति इंगित गर्दै उनले भने, ‘मन्त्री पनि भएका मान्छेले पार्टीको धारणा पनि नबुझ्ने?’