काठमाडौं । व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका समर्थक भानुभक्त ढकालले संसदलाई अवहेलना तथा समानान्तर सरकार सन्चालनको दुस्प्रयास गरेकाले कार्कीविरुद्ध महाभियोग प्रस्ताव सदनमा प्रस्तुत् गर्नुपरेको स्पस्ट पारे ।
कानुनी राज्यको अवधारणालाई खिल्ली उडाउँदै प्रमुख आयुक्त कार्कीले संविधान र कानुन आफ्नो हातमा लिएर लोकतान्त्रिक आचरण र मर्यादाविपरीत काम गरेको भन्दै उनले आग्रह र पूर्वाग्रहबाट प्रेरित भएर भ्रस्टाचार नियन्त्रणका नाममा सर्वत्र त्रास मच्चाएको आरोप लगाए ।
प्रमुख आयुक्त कार्कीले संवैधानिक निकायको प्रमुखकारुपमा गर्नै नहुने काम पटक–पटक गरेकाले सदनमा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका तर्फबाट साझा प्रस्तावकारुपमा महाअभियोग प्रस्ताव प्रस्तुत् गरिएको स्पस्ट पार्दै भने–‘यो साझा प्रस्ताव हो । दलीय आँखाबाट नहेरी त्यसलाई पारित गर्नुपर्छ । यो प्रस्तावको सत्ता समीकरणसँग कुनै साइनो छैन ।’
संविधानप्रदत्त अधिकार प्रयोग गर्दै ऐन, कानुन र विधिको शासनलाई कार्यान्वयन गर्न आफूहरुले प्रमुख आयुक्त कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको बताउँदै उनले त्यसप्रति समर्थन जनाइदिन सबैसँग आग्रह गरे ।