काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीले मंगलवार जारी व्यवस्थापिका संसद् बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पेश गरेका छन् ।

महाभियोग प्रस्ताव पेश गर्ने क्रममा सांसद् शाहीले त्यसको कारण पनि संसद्लाई जानकारी गराएका छन् ।
महाभियोग प्रस्ताव पेश गर्दै शाहीले लोकमानले राज्यविरुद्ध नै गुन्डागर्दी गरेका संसद्मा यस्तो कदम चाल्नुपरेको बताए ।
शाहीले अख्तियारको दुरुपयोग गर्दै लोकमान राज्यविरोधी जासुसीमा संलग्न भएको दाबी गरे । लोकमानले सार्वभौम संसदको अवहेलना गरेको र सर्वोच्च अदालतको तामेली टोलीलाई गुन्डाको शैलीमा आक्रमण प्रयास गरेकाले महाभियोग लगाउन बाध्य भएको बताए ।
लोकमान आफैँ भ्रष्टहरुसँगको मिलेमतोमा भ्रष्टाचारमा लिप्त भएको शाहीको जिकिर थियो । ‘जनताको आँखामा छारो हालेर लोकमान आफैं भ्रष्टाचारमा संलग्न भएका छन्’, उनले भने, ‘उनले अख्तियारमै अलग्गै गुट पनि खडा गरेका छन् । अख्तियारको आडमा शक्तिको दुरुपयोग गरेकाले उनलाई महाभियोग लगाउनुपरेको हो ।’