कचनकवल । भनिन्छ परिवारमा एक जना शिक्षित भयो भने, परिवार बन्छ । अनि समाज शिक्षित भयो भने राष्ट्र निर्माणमै त्यसले ठूलो प्रभाव पार्न सक्छ र पार्छ पनि ।
तर बिडम्बना, हामीकहाँ भौतिक पूर्वाधारको विकासलाई मात्र समृद्धिको मानक मान्ने परिपाटी छ ।
तर यो परिपाटीलाई चिर्दै झापाको दक्षिणी भूभागमा रहेको एउटा स्थानीय तहले शिक्षालाई आफ्नो प्राथमिकताको क्षेत्र बनाएको छ । राज्यबाट निकै उपेक्षित, अनि भारतीय सीमासंग जोडिएको झापाको कचनकवल गाउँपालिकाले आफ्नो पहिलो प्राथमिकता शैक्षिक विकासलाई बनाएको छ ।
हिजोका दिनमा केन्द्र सरकारको प्राथमिकतामा खासै नपरेको यस क्षेत्रमा आदिवासी, मुसलमान, समुदायको बाहुल्यता छ ।
सदरमुकाम भद्रपुरदेखि धेरै करिब २५ किलोमिटरको दूरीमा रहेको यो स्थानीय तहमा स्थानीय सरकार आएपछि भने धेरै परिवर्तन देखिन थालेको छ ।
शिक्षा बिनाको विकास अपूर्ण रहेको भन्दै गाउँपालिकाले नीति तथा कार्यक्रमा शिक्षाका सवालमा निकै बजेट छुट्याएको छ ।
पछाडि परेको उक्त क्षेत्रलाई झापा जिल्लामै नमूना बनाउने उद्येश्य अनुरूप गाउँपालिकाले आर्थिक वर्ष ०७६र०७७ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र स्तारोन्नतिका लागि छुट्टै बजेट विनियोजन छ ।
जसअनुसार गाउँपालिकाले सामूदायिक विद्यालयमा कक्षा १२ सम्म निशुल्क शिक्षादेखि एक वडा, एक नमुना बाल विकास केन्द्र लगायतका योजना अघि सारको छ ।
जसअन्तर्गत गाउँपालिकाले बिहीवार सरस्वती पूजाको अवसर पारेर नमूना बाल विकास केन्द्रको सुरूवात गरेको छ ।
हाल कचनकवल ५ डाँगाबारीस्थित पशुपति प्राविमा सुरू गरिएको बाल विकास केन्द्र चाँडै गाउँपालिकाका अन्य वडामा पनि सुरू गर्ने गाउँपालिकाकाअध्यक्ष अञ्जार आलमले खबरमञ्चलाई बताए । सैद्धान्तिक भन्दा पनि व्यवहारिक र प्राविधिक शिक्षामा गाउँपालिकाले विशेष जोड दिएको उनको भनाइ छ । विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बालविकास केन्द्रमा बालमैत्री वातावरण निर्माणका लागि पनि गाउँपालिका लागि परेको छ ।
यसअघि गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा पहिलो पटक विज्ञान प्रविधि प्रदर्शनीको आयोजना गरिएको थियो । जसमा झापा जिल्लाका विभिन्न स्थानीय तहका करिब ४० विद्यालयको सहभागिता थियो ।
गाउँपालिकाले मात्र होइन झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित राप्रपा सांसद राजेन्द्र लिङ्देनले पनि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतका योजना छनौट गर्दा शिक्षालाई पहिलो प्राथमिकता राखेका छन् ।
लिङ्देनका अनुसार स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको ६ करोड रूपैयाँ क्षेत्र नं ३ का विभिन्न योजनामा खर्च गर्ने भएपनि प्राथमिकता भने शिक्षालाई नै दिइएको छ । उनी भन्छन्, ‘हामी भौतिक पूर्वाधारको विकासलाइ मात्र विकास मान्छौं । कति तले भवन बन्यो, कस्तो बाटो बन्न लाग्यो, पुल बन्छ की बन्दैन । हाम्रो ध्यान यी कुरामा मात्र जाने गरेका छन् । तर अबको समय शैक्षिक क्रान्तिको समय हो , त्यसैले मैले गाउँपालिकासंग सल्लाह गर्दा पनि शिक्षालाई प्राथमिकता दिन भनेको छु ।’
त्यसको त देश संघीयतामा गए लगत्तै गाउँ गाउँमा सिंहदरवारको नारा नारामै सिमित भयो भन्ने जनगुनासो पनि उत्तिकै छ । तर झापाका अन्य स्थानीय तहले भन्दा केही पृथक र फरक गर्न खोजिरहेको यस गाउँपालिकाले त्यहाँका जनतालाई साँच्चै सिंहदरवारको आभाष दिलाउने काशिस गरिरहेको छ ।
कचनकवल गाउँपालिका राप्रपाले जितेकाे स्थानीय तह हाे ।