काठमाडौं । पूर्व क्षेत्रमा दुर्गा प्रसाईं चर्चाको केन्द्रमा रहेको आधा दशक भइसक्यो ।
तर, जब ६ फागुन २०७४ मा भक्तपुरस्थित प्रसाईं निवासमा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बाम एकताको पूर्वतयारीका बेला बैठक बस्यो, तब उनी राष्ट्रिय चर्चाको विषय बने ।
उनका सवारी चालकले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक तस्वीर क्षणभरमै भाइरल बन्यो, जसले प्रसाईंलाई मात्र चर्चित बनाएन, सुदुरपश्चिमको मार्सी चामलको राम्रै ब्राण्डिङ भयो ।
व्यवसायीको घरमा बैठक बसेको भनेर दुई अध्यक्षको आलोचना पनि भयो । प्रतिपक्षीले यसलाई राम्रो मुद्दा बनाए ।
तर, प्रसाईंका लागि भने यो चर्चामा आउने राम्रो अवसर बन्यो ।
यसरी उदाएका प्रसाईंको हालका नेकपा अध्यक्ष प्रचण्डसँग निकटको सम्बन्ध छ । यतिसम्मकी प्रचण्ड प्रसाईंलाई भन्ने गर्थें, ‘यो दुर्गेले केही गर्छ ।’
प्रसाईं पनि प्रचण्डलाई ‘बा’ भनेर सम्बोधन गर्ने गरेको निकटस्थहरु बताउँछन् ।
छोरा प्रकाश दाहालको निधन भएका वेला पनि प्रचण्ड बिर्तामोडस्थित प्रसाईंको बीएण्डसी हस्पिटलमै थिए । त्यति मात्र होइन, कुनै कार्यक्रमका लागि पूर्वक्षेत्रमा आउँदा हरेक पटक प्रचण्ड बिर्तामोड पुगेकै हुन्थे ।
यही कारण कतिपयले बीएण्डसी हस्पिटलमा प्रचण्डको लगानी छ भन्न पनि भ्याए । तर, प्रसाईं भने सधैँ बैंकबाट ऋण लिएर अस्पताल खोलेको बताउँदै आएका थिए ।
प्रचण्डले प्रधानमन्त्री भएका वेला प्रसाईंको बीएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिन हरसम्भव प्रयास पनि गरे । तर, गोविन्द केसीको आन्दोलनका कारण प्रयास असफल बन्यो ।
त्यसो त हालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बन्धन नदिन खोजेका होइनन् । राजनीतिक सन्तुलन कायम गरेर पनि सम्बन्धन नपाएपछि पछिल्लो समय प्रसाईं आक्रोशित थिए ।
उनले अर्बौं लगानी गरेर मेडिकल कलेजको तयारी पनि गरिसकेका थिए ।
यद्यपि, सकरात्मक संकेत नदेखेपछि काठमाडौंमा किन सम्बन्धन दिनुपर्छ भन्ने विषयको जानकारी गराउन २३ पुसमा पत्रकार सम्मेलन गरे । जसमा उनले सम्बन्धन दिलाउनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाए ।
अर्को दिन उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पनि उजुरी दिए ।
तर, गिरीले पनि ‘काउन्टर’मा मानहानी र अभद्र व्यवहार गरेको आरोप लगाउँदै दुई उजुरी अदालत र प्रशासनमा दिएपछि उनी अहिले फरार छन् ।
मानहानी सम्बन्धी मुद्दामा जिल्ला अदालत, काठमाडौंले २१ दिनभित्र उपस्थित भएर लिखित जवाफ पेश गर्न भनेको छ भने अभद्र व्यवहार सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय, भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न स्वीकृति दिइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय, भक्तपुरका एसपी सविन प्रधान भन्छन्, ‘हामीले प्रसाईंलाई खोजी रहेका छौं ।’
यो पनि पढ्नुस्, भ्रस्टाचार गरि अकुत सम्पत्ति कमाएको भन्दै डा. गिरीविरुद्ध दुर्गा प्रसाईंले हाले अख्तियारमा उजुरी
डा. गिरी र दुर्गा प्रसाईं मुद्दा हालाहालमा उत्रिए, प्रसाईंविरुद्ध अदालतमा गाली बैइज्जती मुद्दा दायर
शिक्षामन्त्रीसँग पंगा लिएपछि…
बीएन्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिने कुरामा ओली–प्रचण्ड सहमत नै थिए । तर, जब प्रसाईंले नेकपा निकट अर्का व्यक्ति गिरीविरुद्ध घुस मागेको आरोप लगाउँदै शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम मुछे, तब नेकपा उनीविरुद्ध खनियो ।
गिरीले पोखरेल र श्रेष्ठलाई पनि मिलाउने भन्दै १५ मंसिरमा द्वारिका होटलमा भेटेर रकम मागेको प्रसाईंको दाबी थियो । तर, उनको दाबी सुनेर पोखरेल र श्रेष्ठ आक्रोशित बने ।
‘नखाएको विष लाग्ने भएपछि पोखरेल र श्रेष्ठले अध्यक्षद्वयसँग छानविनको माग राखे’, स्रोतले खबरमञ्चसँग भन्यो, ‘जे पायो त्यही बोल्न थालेपछि माथिको पनि ग्रिन सिग्लन प्राप्त भयो र प्रसाईंविरुद्ध अर्को मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढेको हो ।’
अदालतले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिनुअघिनै उनी त्यसको सुइँको पाएर फरार भइसकेका थिए । अनुमतिको एक दिनअघिसम्म उनी द्वारिका होटलमा गिरि पुगेको देख्ने मान्छे रहेको बताउँदै हिँडेका थिए ।
प्रशासनले पक्राउ गर्न भनेसंगै प्रहरीले उनको भक्तपुरस्थित घरमा सर्च गरेको थियो । तर, उनी भेटिएनन् ।
जिल्ला प्रहरी कार्यालय, भक्तपुरले झापा प्रहरीलाई पनि प्रसाईंलाई खोजी गरिदिन पत्राचार ग¥यो । यद्यपि, उनी फेला परेनन् ।
नेपाल छाडिसके प्रसाईंले, प्रहरीकै सहयोग ?
भक्तपुर प्रहरी स्रोतका अनुसार प्रसाईं प्रशासनले पक्राउ अनुमति दिनुअघिनै मोबाइल स्वीच अफ गरेर झापा पुगेका थिए । प्रहरीबाटै उनी पक्राउ पर्न लागेको सूचना चुहिएपछि प्रसाईं भाग्न सफल भएको स्रोतको दाबी छ ।
भक्तपुर प्रहरीले प्रसाईंलाई खोजी गरिदिन भन्दै झापा प्रहरीलाई पनि आग्रह गरेको थियो । तर, झापा प्रहरीले पनि उनलाई भेट्न नसकेको दाबी गर्दै जवाफ फर्कायो ।
अहिले प्रसाईं भारततिर छिरिसकेको प्रहरीलाई रिपोर्ट प्राप्त भएको छ । प्रसाईं अहिले भारतको नयाँ दिल्लीमा लुकेर बसेको प्रहरी उच्च स्रोतको दाबी छ ।
प्रसाईं निकट एक अधिकृतका अनुसार उनले सिधै अदालत र प्रशासनमा हाजिर हुने तयारी गरेका छन् । त्यसका लागि कानून व्यवसायीसँग छलफल गरिरहेका छन् ।
जिल्ला अदालत, काठमाडौंमा भएको मानहानी मुद्दामा उनलाई २१ दिनभित्र जवाफ पेश गर्न भनिएको छ । अदालतले दिएको समय सीमाभित्र हाजिर नभए उनीविरुद्ध अर्को पक्राउ पूर्जी जारी हुन्छ ।
भक्तपुर प्रशासनमा भएको उजुरी सम्बन्धी अनुसन्धानमा भने तीन महिनाको हद म्याद छ । तर, अभियुक्त फरार रहेको हकमा १५ दिन अगावै मिसिल बुझाउन भनिएको छ ।
प्रहरीले मिसिल बुझाएपछि मात्र प्रशासनमा पनि उपस्थित हुने उनको तयारी छ ।
तर, काठमाडौं अदालतमा हाजिर भएसँगै उनलाई प्रहरीले पक्राउ गरेर भक्तपुर लैजाने सम्भावना हुन्छ । त्यसैले कसरी अघि बढ्ने भन्ने विषयमा प्रसाईंले छलफल गरिरहेको उनी निकट स्रोतले खबरमञ्चलाई बतायो ।
दुर्गा प्रसाईंः जो माओवादी द्वन्द्वपछि उदाए
झापा पुग्ने हरेक पार्टीका नेता प्रसाईंको हस्पिटलमा पुगेकै हुन्छन् । झापाका भद्र, भलाद्मीदेखि प्रहरी, प्रशासन र पत्रकारसम्मलाई उनले आफ्नो पकडमा राखेका छन् ।
सार्वजनिक मञ्चमै आफूले कक्षा ८ मात्र पास गरेको बताउने प्रसाईंले ०६२/०६३ को आन्दोलन अघि भैंसी फार्म खोलेका थिए । बिर्तामोडको खानदानी गिरी परिवारसँग नाता जोडेपछि उनको सुखद् दिन सुरु भएको निकटस्थहरु बताउँछन् ।
‘त्यसैले ससुरा बलराम र सासु चन्द्रकलाको नामबाट अस्पतालको नाम बीएण्डसी जुराइएको हो’, उनी निकट एक व्यक्तिले भने ।
जग्गा कारोबार थालेपछि उनको आर्थिक उन्नति झन् बढ्यो । त्यसबाट हौसिएका उनले मेडिकल कलेज बनाउने सपना देखेका थिए । प्रारम्भमा उनलाई विश्वास गर्ने कमै थिए । तर, अहिले उनले बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पताल पनि ठड्याइसकेका छन् ।
यद्यपि, आफ्नो बोलीका कारण भने सधैँ विवादमा पर्ने गरेका छन् । एकपटक विदेश पढ्न जाने विद्यार्थीलाई करणी गरेर राखेका छन् भन्दा पनि उनी आलोचित बनेका थिए ।
प्रसाईं जति नै विवादित भए पनि बिर्तामोडमा मेडिकल कलेज खोल्ने सन्दर्भमा चाहिँ झापाबासी भने एकजुट छन् ।