काठमाडौं । गायिका आस्था राउतले नेपाल प्रहरीलाई गाली गरेर भिडियो सार्वजनिक गरेलगत्तै सर्वसाधारणले सोचेका थिए, ‘फेरि एक जना निरीह प्रहरी जवानले कारबाही भोग्नु पर्ने भयो ।’
कुनै विवाद सार्वजनिक हुने वित्तिकै ड्यूटीमा खटिएका कनिष्ठ अधिकारीलाई कारबाही गरेर हाकिमहरु चोखिने नियति सुरक्षा फौजीभित्र रहिरहेका वेला सर्वसाधारणले यस्तो सोच्नु नौलो कुरा थिएन ।
विगतमा ‘नो पार्किङ’ एरियामा गृह मन्त्रालयको गाडीमा ताला लगाउँदा प्रहरी जवानले माथिल्लो तहमा स्पष्टिकरण दिनु परेको घटना नागरिकले विर्सिएका छैनन् । सर्वसाधारणले माला लगाइदिइरहेका वेला तत्कालीन महानगरीय ट्राफिक प्रहरी महाशाखा नेतृत्वले भने उनलाई कारबाही गरेको थियो ।
तर, राउत प्रकरणमा भने सर्वसाधारणले सोचे जस्तो भएन । प्रहरीको नेतृत्व गरेका आईजीपी सर्वेन्द्र खनाल र माथिल्लो निकाय महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले ड्यूटीमा खटिएकी प्रहरी जवान रमिला श्रेष्ठको पक्ष लिए ।
यसले प्रहरीभित्र रहेको एउटा बेथितिलाई सफा गर्ने बाटो मात्र खोलेको छैन, समग्र प्रहरी जवानको पनि मनोबल उक्सिएको छ ।
डीआईजीले थालेको नयाँ अभ्यास
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार भद्रपुरका लागि उड्नुअघि नियमित सुरक्षा जाँचका क्रममा भएको प्रहरीको व्यवहार चित्त बुझ्दो नभएको राउतको दाबी छ ।
उनलाई प्रहरी जवानले ‘तँ’ भनेको भन्दै राउतले भनेकी छन्, ‘मेरो हातमा कफी थियो । यसैले, मैले आफैं चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’
आस्थाले भिडियो सन्देश जारी गर्दै भनेकी छन्, ‘यो नेपाल प्रहरीको जरामा नै गन्ध छ । माथि टुप्पाबाट दर्शन, यत्रो दर्शन । कस्तो दर्शन हो यो । मलजल गर । जरा नै कुहिएको छ ।’
भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो । त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानविन सुरु भयो ।
अनुसन्धानका क्रममा विमानस्थल सुरक्षा प्रहरी गार्डले तत्कालीन समयको क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन मात्र गरेन, तत्कालीन समयमा उपस्थित अन्य यात्रु र प्रहरी अधिकारीसँग पनि सोधपुछ ग¥यो ।
फुटेजमा राउतको गल्ती देखिएको प्रहरी अधिकृतहरु बताउँछन् । खबरमञ्चलाई प्राप्त फुटेजमा गायिका राउत र महिला प्रहरीबीच विवाद भएको देखिन्छ ।
कसूर प्रमाणित भए राउतमाथि ५ महिनादेखि एक वर्षसम्म कैद वा ५ सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ
राउतले चेकजाँच गर्ने मेसिनमा पुग्ने वित्तिकै केही संवाद गरेकी छन् । महिला प्रहरीले खनतलासी लिन खोज्छिन् । त्यसक्रममा ज्याकेट खोल्न लगाएर हातमा बोकेको कफी अर्कोतिर राखिदिन्छन् ।
त्यसपछि झोक्किँदै निस्किएकी राउतले पुनः कफी फिर्ता लिएको देखिँदैन । महिला प्रहरीले पनि औंला ठड्याउँदै झोलामा जबरजस्ती कफी राखिदिन खोज्छिन् ।
घटनाको वस्तुस्थिति हेरेपछि डीआईजी पोखरेलले कस्तो कदम चाल्लान् भन्ने सबैको जिज्ञासा थियो । सर्वसाधारण राउतको पक्ष र विपक्षमा बाँडिएका थिए । उनले प्रहरी अधिकृतको अपेक्षा विपरित मातहका सबै इकाई प्रमुखलाई राखेर छलफल गरेर सामूहिक निर्णय लिने विचार गरे ।
हेर्नुस् सीसी टीभी फुटेज
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी, महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राई, महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकाल, विमानस्थल प्रहरीका एसएसपी रामकृपाल शाह, महानगरीय प्रहरी परिसर, भक्तपुरका एसपी सविन प्रधान लगायत उपस्थित छलफलबाट राउत प्रकरणमा कसरी अगाडि बढ्ने भन्ने तय गरिएको थियो ।
यसले महानगरीय प्रहरीले सामूहिक समन्वय र सहकार्यलाई पनि जोड दिएर नयाँ सुरुवात् गरेको भन्दै प्रशंसा गरिएको छ । छलफलबाटै प्रहरी जवान श्रेष्ठको कुनै गल्ती नभएको निष्कर्ष निकालियो । र, उनीबाट प्राप्त उजुरीको आधारमा कानूनी कारबाही अघि बढाउने निर्णय भयो ।
जसअनुसार गायिका राउतविरुद्ध मुलुकी अपराध संहिताको अभद्र व्यवहार सम्बन्धी कसूर अन्तरगत कारबाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने यो कसूर प्रमाणित भए राउतमाथि ५ महिनादेखि एक वर्षसम्म कैद वा ५ सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।
राउत भने कार्यक्रमको सिलसिलामा सिक्किममा छिन् ।
डीआईजी भन्छन् – सुरक्षा जाँचमा अनुहार हेरिन्न
महानगरीय प्रहरी आयुक्त विश्वराज पोखरेल विमानस्थल जस्तो संवेदनशील स्थानमा पदीय हिसाबले कसैलाई पनि सुरक्षा अवज्ञाको सौलियत नहुने बताउँछन् । पदीय वा सेलिब्रेटीको हिसाबले कसैलाई नछाडिने उनको भनाइ छ ।
‘ड्यूटीमा बसेको प्रहरीको मनोबल गिराउने हर्कत कोहीबाट हुन्छ भने क्षमा योग्य हुँदैन र त्यही विषयसँग जोडेर सुरक्षा निकायप्रति अविश्वास सिर्जना गर्ने ढंगले गरेका गाली गलौजको पनि छुट हुँदैन’, उनले खबरमञ्चसँग भने, ‘छानविनका क्रममा प्रहरी कर्मचारीको गल्ती देखिएको भए कर्मचारीमाथि पनि कडा कारबाही हुन्थ्यो ।’
यो पनि पढ्नुस्
आस्था राउत प्रकरणः विमानस्थलदेखि फेसबुक लाइभ हुँदै प्रहरी जवानको उजुरीसम्म