काठमाण्डौं । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले नीजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका लागि अझै नाम सिफारिस गर्न सकेको छैन ।
जेठ १९ गते भएको चुनावमा सबैभन्दा ठूलो संगठनका रुपमा विजयी भएपनि संगठनको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र ८ जना सदस्यमा कसकसलाई पठाउने भन्नेबारेमा सहमति हुन नसक्दा सिफारिस गर्न नसकिएको संगठनका अध्यक्ष पुण्य ढकालले जानकारी दिए ।
नाम टुंगो लगाउन असार ३ गते बसेको बैठकमा विवाद हुँदा पूर्व अध्यक्ष भोला पोखरेल पक्षले अध्यक्ष ढकाललाई हातपात गरेपछि स्थगित भएको बैठक फेरि बस्न सकेको छैन । संगठनको अध्यक्षमा ढकाल र पोखरेलसहित गणेश बस्याल र लक्ष्मणबहादुर खड्काले पनि दाबी गरेका छन् ।
संगठनको अध्यक्ष भएको र आफ्नै नेतृत्वमा संगठन विजयी भएकाले स्वत आफू अध्यक्ष बन्न पाउनुपर्ने ढकालको दावी छ । तर पोखरेल, बस्याल र खड्काले पनि अध्यक्षका लागि आफ्नो नाम सिफारिस हुनुपर्ने दावी गरिरहेका छन् । अध्यक्ष ढकालले अब छिट्टै बैठक बसेर नाम टुंग्याउने जानकारी दिए । कांग्रेस निकटको कर्मचारी युनियनले भने महासचिवमा सुबोधकुमार देवकोटा सहितको टीम पठाउने निर्णय गरिसकेको छ ।