काठमाण्डाैं । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि दलहरुबीच एकताको खाँचो रहेको भन्दै स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन नभएसम्म एक ठाउँमा उभिन दलहरुसँग अपिल गरेकी छन्।
पूर्व सांसद् मञ्चले ५८ औं संसद् दिवसका अवसरमा विहिवार काठमाडौमा गरेको कार्यक्रममा सभामुख घर्तीले संविधानको कार्यान्वयनका लागि दलहरुले संविधान जारी गर्दाताका जस्तै एकता प्रदर्शन गर्नुपर्ने बताइन्। उनले दलहरुको एकताविना संविधान कार्यान्वयन हुन नसक्ने बताइन्।
सभामुख घर्तीले संविधानको कार्यान्वयन दलहरुको साझा विषय भएकाले साझा विषयमा एकता र सहमति अनिवार्य हुने उल्लेख गरिन्।
कार्यक्रममा पूर्व सांसद् मञ्चका निवर्तमान अध्यक्ष एवं पूर्वसभामुख तारानाथ रानाभाटले प्रतिनिधि सभामा समानुपातिक प्रणालीबाट प्रतिनिधित्वको व्यवस्था मुलुकका लागि निकै घातक भएको बताए। उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले नेताहरुले खल्तीबाट नाम झिकेर सांसद् बनाउने प्रवृत्ति मौलाउने र त्यसले संसदीय व्यवस्था नै विकृत हुने चेतावनी दिए।
कार्यक्रममा रानाभाटले मञ्चका नवनिर्वाचित अध्यक्ष ओमकार श्रेष्ठलाई पद्भार हस्तान्तरण गरेका थिए। मञ्चको दुई दिने महाधिवेशनले नेपाली काँग्रेसका पूर्व सांसद् श्रेष्ठको अध्यक्षतामा ४२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।