काठमाण्डौ । आन्दोलनरत संघीय गठवन्धनको रिले अनसन राजधानीको खुल्ला मञ्चमा आज बुधबार दोस्रो दिन पनि जारी छ । लामो समय देखि आन्दोलन गर्दै आएपनि आफ्ना माग सुनुवाई गर्न सरकार र दलहरु जिम्मेवार नदेखिएको भन्दै गठवन्धनले काठमाडौंमा हिजो मंगलबारदेखि रिले अनसन सुरु गरेको हो । असार मसान्तसम्म जारी रहने रिले अनसनमा गठबन्धन आवद्ध दलका शीर्ष नेता सहभागी हुने बताईएको छ ।
पहिचान सहित संविधान पुर्नलेखन लगायत विभिन्न २६ बुँदे माग राख्दै गठबन्धनले लामो समय देखि आन्दोलन गर्दै आएको छ । यसअघी गठवन्धनले प्रशासनिक केन्द्र सिंहदरवार र बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास घेराउ गरेको थियो ।
विभिन्न चरण र प्रकृतिका आन्दोलनपछि पनि सरकारले आफ्ना मागहरुको सुनुवाई नगरेको भन्दै संघीय गठवन्धनले रिले अनसनको कार्यक्रम थालेको नेताहरुले बताएका छन्।
संविधानको मस्यौदा बने देखि नै असन्तुष्ट रहेको गठवन्धनमा सहभागी दलहरु र सरकारबीच पछिल्ला दिनमा वार्ता समेत हुन सकेको छैन।
तराई लगायत विभिन्न क्षेत्रमा भएका आन्दोलनको सुनुवाई नभएको भन्दै जेठको पहिलो हप्तादेखि राजधानी केन्द्रित आन्दोलन थालेको संघीय गठवन्धनले यसअघि दुई चरणको आन्दोलन गरि सकेको छ।
सिंहदरबार र प्रधानमन्त्री निवासमा घेराउ कार्यक्रमका साथै राजधानीकै विभिन्न स्थान र देशका केही प्रमुख सहरमा सभाहरु गरेको गठवन्धनले मंगलबारदेखि तेस्रो चरणको आन्दोलन सुरु गरेको हो।