विर्तामोड ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले ८१ प्रतिशत हिन्दुहरु रहेको देशलाई हिन्दु राष्ट्र बनाएरै छाड्ने दाबी गरेका छन् ।
सोमबार झापाको विर्तामोडमा आयोजित हिन्दुत्व जागरण सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले हिन्दुहरुको बाहुल्यता रहेको नेपाल धर्म निरपेक्ष राष्ट्र धेरै समय नरहने ठोकुवा समेत गरे । उनले वर्तमान संविधानमा धर्म निरपेक्षताको प्रावधान परिवर्तनीय भएको र संविधान परिवर्तन गर्नका लागि संशोधनको व्यवस्था भएकाले हिन्दु राष्ट्र फर्काउन कठिन नहुने बताए ।
विदेशी चलखेलका कारण हिन्दुहरुले धर्म परिवर्तन गरिरहेको आरोप लाउँदै अध्यक्ष थापाले नेपाली हिन्दुहरुलाई लोभ लालच, डर त्रास तथा धम्की देखाएर अन्य धर्ममा जान बाध्य बनाइएको बताए ।
आगामी निर्वाचनमा राप्रपा नेपालले बहुमत पाए धर्मनिरपेक्षता लगायतका विषयमा आफ्नो पार्टीले राखेको विमतीमा परिवर्तन गर्ने समेत उनले बताए । उनले भने, ‘राप्रपा नेपालले एकपल्टको चुनावमा हार्दैमा मूल एजेन्डा हिन्दु राष्ट्रको एजेन्डा हराउँदैन ।’
सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङदेनले राजनीतिक दलले विगारेको हिन्दु राष्ट्रको विषयलाई राजनीतिक पार्टीले मात्र संबोधन गर्नसक्ने बताए । उनले भने, ‘हिन्दु राष्ट्र अब राप्रपा नेपालले मात्र फर्काउन सक्छ । तर तपाईंहरुले गाईमा भोट हाल्नैपर्छ । नत्र हिन्दुराष्ट्र आउन सक्दैन ।’ उनले हिन्दुत्वको रक्षाका लागि राप्रपा नेपाल निरन्तर लागि परिरहेको र लागिरहने बताए ।