काठमाण्डाैं । मन्त्रिपरिषद् बैठकमा नेकपा माओवादी केन्द्रका सात मन्त्रीहरु अनुपस्थित भएका छन्। सिँचाइमन्त्री उमेश यादव मात्रै बैठकमा पुगेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार विहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाएको बैठकमा माओवादीका सात जना मन्त्रीहरु अनुपस्थित भएका हुन् । माओवादीका ८ मन्त्री मध्ये सिंचाइमन्त्री यादव मात्र बैठकमा सहभागी भएका थिए ।
सूचना तथा संचारमन्त्री शेरधन राईले माओवादी मन्त्रीहरु पार्टीको आन्तरिक बैठकमा व्यस्त भएका कारण मन्त्रीपरिषद्को बैठकमा अनुपस्थित भएको बताए ।
गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको विषयलाई लिएर दुई दिनयता प्रधानमन्त्री र माओवादीबाट प्रतिनिधित्व गर्ने गृहमन्त्री शक्तिबहादुर बस्नेतबीचको सम्बन्ध चिसिएको छ । संचारमन्त्री राईले भने मन्त्रीपरिषद्का सदस्यहरुबीच कुनै खटपट नरहेको दाबी गरेका छन् ।
माओवादीका मन्त्रीहरुको अनुपस्थितिका वाबजुद मन्त्रीपरिषद्को बैठक डेढ घण्टा बसेको छ । बैठकले स्वास्थ्य मन्त्रालय अन्र्तगतको सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा. गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।