सिएटल, अमेरिका,असार ५। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को महत्वपूर्ण खेलमा संयुक्त राज्य अमेरिकाले अस्ट्रेलियाविरुद्ध अग्रता कायम गरेको छ।
खेलको ११औँ मिनेटमा अमेरिका पहिलो गोलमा अगाडि बढ्यो। अस्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्जेसले फोलारिन बालोगुनको दबाबमा आफ्नै गोलपोष्टतर्फ बल डिफ्लेक्ट गर्दा आत्मघाती गोल भएको हो। यसले अमेरिका १–० ले अघि बढ्यो। त्यसपछि ४३औँ मिनेटमा अमेरिकाले दोस्रो गोल थप्यो। सो गोल एलेक्स फ्रिम्यानले गरेका हुन्। उनले पेनाल्टी क्षेत्रभित्र आएको रिबाउन्ड बललाई नियन्त्रणमा लिएर सिधै गोल गरेका थिए। सुरुमा अफसाइड भनिएपनि जाँचपछि उक्त गोल मान्य गरिएको थियो।
पहिलो हाफसम्म अमेरिकाले २–० को अग्रता बनाएको छ। खेलमा अमेरिका बल नियन्त्रण र आक्रमणमा बलियो देखिएको छ भने अस्ट्रेलियाले काउन्टर अट्याकमार्फत फर्किने प्रयास गरिरहेको छ।
दुवै टोली पहिलो खेल जितेर मैदान उत्रिएका कारण यो खेल समूहको शीर्ष स्थान निर्धारणका लागि निकै महत्वपूर्ण मानिएको छ। अमेरिकाले सुरुवाती समयदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै दबाब सिर्जना गरेको थियो। घरेलु समर्थकको उल्लेख्य उपस्थितिबीच खेलिएको खेलमा अमेरिकाले बल नियन्त्रण र अवसर सिर्जनामा राम्रो प्रदर्शन गरेको देखिएको छ।
स्टार खेलाडी क्रिस्टियन पुलिसिक चोटका कारण खेलमा अनुपस्थित रहेका छन्, जसका कारण टोलीको आक्रमण पंक्तिमा केही परिवर्तन गरिएको थियो।
समूह ‘डी’ मा अमेरिका र अस्ट्रेलिया दुवैले आफ्नो पहिलो खेल जितेका थिए। अमेरिकाले पाराग्वेलाई ४–१ ले हराएको थियो भने अस्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गरेको थियो।
