झापा- राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले महिला र पुरुषको अधिकार बराबर भएको बताएकी छन्।
नीति निर्माणका क्रममा पुरुषले नै महिलालाई स्थान नदिएको उनले बताइन्।
नेपाल पत्रकार महासंघ झापा शाखाको महिला विभाग र नारी सञ्चार गृह झापाको संयुक्त रुपमा आयोजित लैङ्गिक हिंसा न्यूनीकरणका लागि डिजिटल सुरक्षा कार्यशालामा बोल्दै आयोगकी सदस्य खतिवडाले महिलाको हक कसैको आशिर्वाद नभइ नैसर्गिक अधिकार भएको बताइन्।
उनले पुरुषको हातमा शासनसत्ता रहुन्जेल महिलाहरूले न्याय पाउन गाह्रो भइरहने बताइन्। तर अहिलेको अवस्थामा महिलाका कारण पुरुष पनि त्यतिकै हिंसाको शिकार बन्ने गरेको उनको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अहिलेको डिजिटल युगमा विभिन्न सामाजिक सञ्जालका प्लेटफार्मको दुरुपयोगका कारण महिलाहरूमाथि हिंसा भइरहेको बताए।
उनले डिजिटल साक्षरता तल्लोस्तरसम्म पुर्याउने पर्ने आवश्यकता रहेको बताए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्का र अधिवक्ता कोपिला बस्नेतले कार्यपत्र प्रस्तुत गरेका थिए।
