झापा- झापाको कनकाई नगरपालिकाले नगरवासीको मृत्यु संस्कारमा सहयोग पुर्याउने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ।
यस कार्यक्रमअन्तर्गत मृत्यु भएका प्रत्येक नगरवासीको परिवारलाई समवेदनापत्रसहित नगद रु ५,००० प्रदान गरिने भएको छ।
नगर प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार, यो कार्यक्रमले शोकमा परेका परिवारलाई आर्थिक र नैतिक दुवै किसिमले सहयोग पुग्ने विश्वास लिइएको छ। “मृत्यु संस्कारमा सहजता र सहानुभूति प्रदान गर्न यो कार्यक्रम ल्याइएको हो,” उनले भने।
उपप्रमुख आशा शर्मा शिवाकोटीले साउन ११ गतेको कार्यपालिका बैठकबाट ‘मृत्यु संस्कार व्यवस्थापन कार्यविधि–२०८२’ पारित गरेर यस कार्यक्रमलाई कानुनी आधार दिइएको जानकारी दिइन्।
नगरपालिकाले ‘सरहे कार्यक्रम’बाहेक अन्य महत्वपूर्ण विषयमा पनि काम अघि बढाएको छ। कृषि विकास, पशुपालन, र सुरक्षित आप्रवासनसम्बन्धी विभिन्न कानुनको मस्यौदा तयार पार्न समिति गठन गरी छलफल चलाइएको पनि नगरपालिकाले जनाएको छ।
