झापा– झापा गाउँपालिकामा गरगहना चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा झापा गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षीय निर्मल बराईली र सोही स्थानका १९ वर्षीय दिपेश रसाईली रहेका छन्।
गत साउन १४ गते दिउँसो करिब १ बजे झापा-३ बस्ने २० वर्षीय लरेश मुर्मुको घरबाट विभिन्न किसिमका चाँदीका गरगहना चोरी भएको थियो। घटनापछि प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो।
खोजतलासको क्रममा आइतबार बराईली र रसाईलीलाई प्रहरीले पक्राउ गरेको हो। बराईलीको घरबाट चोरी भएका चाँदीका चुरा (बाला) एक जोर, कल्ली एक जोर, बिच्छी (सिक्री) एक थान, पाउजु एक थान, सिक्री एक थान र औँठी तीन थान बरामद गरिएको छ।
पक्राउ परेका उनीहरुलाई सोमबार झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
