झापा – झापाको मेचीनगरमा शनिवार साँझ अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पछिल्लो समय अटो र सिटी रिक्साका कारण दुर्घटना बढिरहेका बेला यो घटना भएको हो।
साँझ ५:१० बजे मेचीनगर–१२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र.१–०१–००२ ह. ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको मे.८ प. ८०३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा–११ बस्ने ३४ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए। उनलाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले अस्पताल पुर्याउनेबित्तिकै मृत घोषणा गरेका छन्।
अटोमा सवार बुद्धशान्ति–३ बस्ने ४९ वर्षीया निर्मला बिक र उनकी छोरी १७ वर्षीया दिपा बिकसमेत घाइते भएका छन्। दुवै जनाको बीएण्डके पोलिक्लिनिक चारआलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले अटो चालक बुद्धशान्ति–१ बस्ने ४० वर्षीय युवराज घिमिरे, अटो र मोटरसाइकललाई प्रहरी चौकी चारआलीको नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।