झापा- झापाको शिवसताक्षी नगरपालिका–९ मा १५ वर्षीय आदित्य तामाङ र १९ वर्षीय रोमन थापाको कुटपिटका कारण ज्यान गएको आशंका गरिएको छ। यो दुखद घटनाले गाउँ शोक र आक्रोशमा डुबेको छ।
मंगलबार रोमन थापाको निधन भएको थियो। उनको अन्त्येष्टि पनि नसकिँदै बुधबार बिर्तामोडको बिएन्डसी अस्पतालमा आदित्य तामाङको पनि मृत्यु भयो। केही दिनअघि ट्युसन पढेर फर्कने क्रममा ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीले आदित्यमाथि बाटोमै कुटपिट गरेको बताइएको छ।
प्रत्यक्षदर्शीका अनुसार पहिलो पटक सामान्य कुटपिट गरी छाडिएको भए पनि केही समयपछि फेरि बोलाएर उनलाई निर्घात कुटपिट गरिएको थियो।
आदित्यका साथीहरूका अनुसार उनले कुटपिटको कुरा घरमा बताएका थिएनन्। कुटपिटको भोलिपल्ट उनले ट्युसन जान छोडे, तर विद्यालय भने गएका थिए। विद्यालयमा उनले अनुहार सुन्निएको र ढाड दुखेको गुनासो गरेका थिए। अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल लगिएको थियो। बिएन्डसी अस्पतालमा बुधबार दिउँसो उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
यसअघि आइतबार आदित्यका नजिकका साथी रोमन थापाको पनि बिर्ता सिटी अस्पतालमा निधन भएको थियो। रोमन र आदित्य दुवै संगमचोक क्षेत्रका बासिन्दा र एउटै ट्युसन सेन्टरका साथी थिए। दुवैको शारीरिक लक्षण समान रहेको परिवारले बताएको छ। सुरुमा छाती र ढाड दुख्ने, पछि श्वासप्रश्वासमा समस्या देखिने र अन्ततः मृत्यु भएको विवरण दुवै परिवारको उस्तै छ। तर जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रवीणले दुईवटा घटनामा एकआपसको सम्बन्ध नरहेको बताए।
उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं तर दुईवटा घटनाबीच सम्बन्ध अहिलेसम्म देखिएको छैन।’
प्रहरीले प्रारम्भिक अनुसन्धानमा संलग्न भएको आशंकामा ६ जना किशोरलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरूले घटनामा संलग्नता स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। कुटपिटको कारण, योजना र थप संलग्नताबारे अनुसन्धान जारी छ।
मृतक आदित्य र रोमनका परिवारले निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन्। स्थानीय वडाध्यक्ष धनबहादुर थेबेले घटनाप्रति दुख व्यक्त गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन जोड दिएका छन्।
मृतकका परिवार र स्थानीयले मानवअधिकारकर्मी र सञ्चारमाध्यमलाई घटनाको सत्यतथ्य बाहिर ल्याउन अपिल गरेका छन्।