काठमाडौं — उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ। बुधबार सम्पन्न समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८–० को प्रचण्ड जित हात पारेको हो।
कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गर्दै टोलीलाई जितको दिशामा डोर्याइन् भने डिफेन्डर गीता रानाले दुई गोल गरिन्। निशा थोकर, रेखा पौडेल र पुजा रानाले पनि गोलमार्फत योगदान पुर्याए।
नेपालले खेलको सुरुवातदेखि नै आक्रामक शैली अपनाएको थियो। सातौँ मिनेटमा अनिता बस्नेतको कर्नरमा गीता रानाको हेड गोलबाट नेपालले अग्रता लिएको थियो। त्यसपछि २० औँ मिनेटमा सावित्राले अनिताको लो क्रसमा गोल गर्दै स्कोर २–० बनाइन्।
४२ औँ मिनेटमा सावित्राले पुनः अनिताकै पासमा गोल थपिन् भने पहिलो हाफको इन्ज्युरी समयमा सविता राना मगरको क्रसमा हेडरमार्फत ह्याट्रिक पूरा गरिन्। पहिलो हाफमै नेपालले ४–० को सशक्त अग्रता बनायो।
दोस्रो हाफमा पनि नेपालको प्रदर्शन प्रभावशाली रह्यो। ५४ औँ मिनेटमा रश्मी कुमारी घिसिङमाथि फउल भएपछिको पेनाल्टीमा गीता रानाले व्यक्तिगत दोस्रो गोल गरिन्। ६२ औँ मिनेटमा अनिता बस्नेतको कर्नरमा निशा थोकरले हेडमार्फत गोल थपिन्।
७८ औँ मिनेटमा पुजा रानाको पासमा रेखा पौडेलले गोल गर्दै स्कोर ७–० बनाइन् भने ८९ औँ मिनेटमा पुजाकै कर्नरमा गोल गर्दै उनले अन्तिम स्कोर ८–० मा पुर्याइन्।
यसअघि नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले पराजित गरेको थियो। दुई खेलमा १७ गोल गर्दै कुनै पनि गोल नखाएको नेपाल अब समूहको अन्तिम खेलमा २१ जुलाईमा आयोजक उज्वेकिस्तानसँग भिड्नेछ।
उता, श्रीलंकाले लगातार दोस्रो खेलमा लज्जास्पद हार व्यहोरेको छ। पहिलो खेलमा उनीहरू उज्वेकिस्तानसँग १०–० ले पराजित भएका थिए।
नेपालको उत्कृष्ट प्रदर्शनले समूह विजेता बन्ने सम्भावनालाई बलियो बनाएको छ। अब उज्वेकिस्तानविरुद्धको खेल समूह विजेता र एएफसी महिला एसियन कपमा स्थान सुनिश्चित गर्ने दृष्टिकोणले निर्णायक हुनेछ।