धरान (सुनसरी)– धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष बितिसक्दा पनि पुनःनिर्माण नहुँदा स्थानीय दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य भएका छन्।
२०८० चैतमा निर्माण सम्पन्न भएको यो पुल छ महिना नपुग्दै भत्किएको थियो, तर एक वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले मर्मत वा पुनःनिर्माणमा कुनै पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन्।
स्थानीयको पीडा र जोखिम: स्थानीय जीवन तामाङले पुल भत्किएको एक वर्ष भए पनि पैदलयात्रुले यहीँबाट हिँड्नुपर्ने बाध्यता रहेको बताए। “साना बच्चा, वृद्ध र बिरामी लिएर हिँड्दा निकै जोखिम हुन्छ, कहिले पुल बन्ला भन्ने आशामा छौँ,” उनले भने, “अहिले बर्खा लागिसक्यो, खोलामा बाढी आउँछ भन्ने त्रास छ, तर विकल्प छैन।”
सवारीसाधनले घुमाउरो बाटो प्रयोग गरे पनि बूढापाका, बालबालिका र विद्यार्थीहरू जोखिम मोलेर हिँड्न बाध्य भएको ७९ वर्षीय अमृत श्रेष्ठले बताए। पुल नहुँदा बिरामी बोकेर अस्पताल लैजान एम्बुलेन्सलाई समस्या भएको र वैकल्पिक घुमाउरो बाटो प्रयोग गर्दा बिरामी ढिलो पुग्ने गरेकोले गम्भीर असर पारिरहेको स्थानीयको गुनासो छ।
पुल भत्कनुको कारण र आधिकारिक प्रतिक्रिया: वडाध्यक्ष धनबहादुर राईका अनुसार २०१८ सालमा ब्रिटिस घोपा क्याम्प जान सहज होस् भनेर निर्माण गरिएको यो पुल अहिले पूर्ण रूपमा भत्किएको छ। उनले मदन भण्डारी राजमार्ग निर्माणका क्रममा नयाँ पुल नबनाई पुरानै पुलमाथि कालोपत्र गर्दा पुल भत्किएको आरोप लगाए।
धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले पुलको स्थलगत निरीक्षण भइसकेको र हाल अस्थायी रूपमा क्याबिन राखी कल्भर्टमार्फत पानी बगाउने योजना बनाइएको बताए। उनले चाँडै पुल पुनःनिर्माणको प्रक्रिया सुरु गरी स्थानीयको समस्या समाधान गर्ने प्रयास भइरहेको बताए।
यता, मदन भण्डारी राजमार्ग निर्माण आयोजनाका इन्जिनियर घनश्याम खड्काका अनुसार २०८० मा सडक कालोपत्रे गर्दा पुल ठीकठाक देखिएपछि त्यसैमाथि कालोपत्र गरिएको थियो, तर कल्भर्टमा प्रयोग गरिएको फलाम पुरानो भई खिया लागेकाले भाँचिएको हो।
कल्भर्ट भाँचिएपछि अस्थायी रूपमा बनाइएको बाटो पनि पुनः बाढीले बगाएपछि साना सवारी र टेम्पो सञ्चालन गर्न मिल्नेगरी साइडबाट अस्थायी फलामको पुल बनाइएको उनले जानकारी दिए। स्थायी समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्ने प्रक्रिया अगाडि बढिरहेको र त्यसपछि नयाँ पुल निर्माण सुरु गरिने उनले बताए। पुल निकै पुरानो भएकाले त्यसको लागत र विवरण अभिलेखमा नभएको इन्जिनियर खड्काको भनाइ छ।
बस्तीमा बाढीको त्रास र शीघ्र पुनःनिर्माणको माग: वर्षायाम सुरु भइसकेकाले खहरे खोलामा बाढी थुनिएर बस्तीमा पस्न सक्ने खतरा बढेको छ।
धरान बजार क्षेत्रको फोहोर पानी यही खोलामा मिसिने भएकाले करिब २०० घर प्रत्यक्ष बाढीको जोखिममा रहेको वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए। हालैको बाढीले खहरे खोलामा भित्री कटान बढाएपछि स्थानीयमा थप त्रास फैलिएको छ।
स्थानीयले पुलको पुनःनिर्माणमा शीघ्रता अपनाउन सरकार र सरोकारवाला निकायलाई आग्रह गरिरहेका छन्, अन्यथा जनधनको क्षति हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।