बुद्धशान्ति- झापाको बुद्धशान्ति गाउँपालिकाले सोमबार (आज) आफ्नो १६औं गाउँसभा अधिवेशनका अवसरमा विभिन्न उपभोक्ता समिति र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरेको छ।
गाउँपालिकाले विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने उपभोक्ता समिति तथा निष्ठापूर्वक सेवा गर्ने कर्मचारीहरूको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको हो।
गाउँपालिकाले विभिन्न योजनाहरूमा सक्रिय रहेका १ वटामा एउटा उपभोक्ता समिति पर्नेगरी ७ वटा उपभोक्ता समितिलाई सम्मान गरेको हो। प्रत्येक समितिलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ।
वडा नम्बर ३ को राई टोल सडक ग्राभल उपभोक्ता समिति, वडा नम्बर १ को इलामेली टोल ड्रेन निर्माण उपभोक्ता समिति, वडा नम्बर २ को नेपाल गाउँ पैनीको गोपाल डाँडा जाने मुहान निर्माण उपभोक्ता समिति, वडा नम्बर ४ को नौलो बिहानी महिला समूह भवन निर्माण उपभोक्ता समिति, वडा नम्बर ७ को जरेबरबाट भालुझोडा खोलाहुँदै टिमाइ मोक्षघाट जाने बाटो सोलिङ ढलान तथा स्तरोन्नति उपभोक्ता समिति, वडा नम्बर ५ को किङरिङ डाँडा ओरालो बाटो स्तरोन्नति उपभोक्ता समिति र वडा नम्बर ६ को देउरालीदेखि श्यामलाल अधिकारीको घर हुँदै शान्तिनिकेतन जाने बाटो ड्रेन निर्माण उपभोक्ता समिति रहेका छन्।
गाउँपालिकामा उत्कृष्ट कार्यसम्पादन गर्ने ७ जना कर्मचारीहरूलाई पनि सोही अवसरमा सम्मान गरिएको छ।
प्रत्येक कर्मचारीलाई नगद पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ। सम्मानित हुने कर्मचारीहरूमा भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालका मेडिकल सपरिन्टेन्डेन्ट डा. सुमेश चौधरी, वडा नम्बर ७ की वडासचिव ममता रिजाल, सब इन्जिनियर सन्जय दाहाल, फिल्ड सहायक दुर्गा सापकोटा, सवारी चालक पर्शुराम ढकाल, सामाजिक विकास शाखाका जयप्रकाश खाती र सरसफाइकर्मी अजय मरिक रहेका छन्।
यो सम्मान कार्यक्रमले गाउँपालिकाभित्रका विकास निर्माणका कार्यमा उपभोक्ता समितिको सक्रियतालाई प्रोत्साहन गर्नुका साथै कर्मचारीहरूको मनोबल उच्च राख्न मद्दत पुग्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।