राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत, समृद्ध, सन्तुलित र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकासमा अघि बढ्न राष्ट्रपति विद्या देवि भण्डारीले सबैलाई आग्रह गरेकी छन् ।
गणतन्त्र दिवसका अवसरमा देशवासीका नाममा जारी गरेको सन्देशमा राष्ट्रपति भण्डारीले पहिलोपटक संविधानसभाबाट नेपालको संविधान जारी भएको र यसको कार्यान्वयन सुरु भइरहेको बताएकी छिन् । उनले ऐतिहासिक संविधानले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत् अन्त्य गरी जनतालाई पूर्ण सार्वभौम बनाएको जारी सन्देशमा उल्लेख गरेकी छन् ।
राजनीतिक अधिकार सुनिश्चित भएको वर्तमान परिप्रेक्ष्यमा सिंगो मुलुक आन्तरिक स्रोत र साधनको अत्यधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, बृहत्तर पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने पनि उनको सन्देशमा उल्लेख छ ।