काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण गैरआवासीय नेपाली (एनआरएन) हरूलाई वंशजको नागरिकता दिन नहुने बताएका छन्। मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको बताएका छन्। खुला सीमा भएका कारण भारतबाट मात्र नभई उत्तर, दक्षिण लगायतका विभिन्न देशहरूबाट नेपालमा आउनेहरूको लर्को रहेको उनले उल्लेख गरेका छन्।
आमा र बुबा दुवै नेपालीबाट जन्मिएको सन्तानलाई मात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने बताउँदै उनले प्रश्न गरेका छन्, “पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ?”
गैरआवासीय नेपालीलाई सांस्कृतिक र आर्थिक अधिकार दिएपनि त्यतिले नपुगेको उनले बताएका छन्। ब्रिटिश गोर्खाको हकमा पनि दुई देशबाट वंशजको आधारमा नागरिकता लिन नमिल्ने उनले जिकिर गरेका छन्।
उनले भनेका छन्, ‘नेपालमा नागरिकताको समस्या अत्यन्त जटिल समस्या रहेको छ। दक्षिणतिर मात्रै बोर्डर खुला छ भन्नेमात्रै होइन। उत्तर, दक्षिण, बर्मा विभिन्न देशबाट मान्छेको ओइरो लागेको हो। हाम्रो पार्टीले के भन्दै आएको हो भने आमा वंशजको, बुबा वंशजको यसबाट जन्मिएका सन्तानलाई मात्रै वंशजको नागरिकता दिनुपर्छ भन्ने हो। गैह्रआवासीय नेपालीहरूको समस्या र धेरै कुराहरू सुनियो। उपदेश पनि धेरै सुनिरहेको छ। उनीहरू यहाँ आउन पाउने र उनीहरूलाई वंशजको नागरिकता दिने हो भने देश स्विट्जरल्याण्ड हुने जस्तो कुरा पनि सुनियो। पैसा कमाएका कारणले नागरिकता पाइन्छ? वंशजको नागरिकता पाइन्छ? त्यसो भए त धेरैले लिन्थे नि। गैह्रआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकारको कुरा छ, त्यसले उहाँहरूलाई पुगेको छैन। त्यस्तो हुन्छ। ब्रिटिश गोर्खाको पनि त्यही छ। उता पनि वंशजको नागरिकता लियो, उहिले राणाकालमा सम्झौता भएर गएको निरन्तर हुनुपर्छ, दुईतिर नागरिकता लिन पाइन्छ? संसदमा भोटिङ हुनुपर्छ यसबारेमा। मेरो एउटै भोट पर्ला फरक पर्दैन। विलौना सुनेपछि मन पगाल्ने काम नगरौँ।’
अध्यक्ष केसीले नेपालकालाई बाहिर लखेट्ने र बाहिरका ल्याएर नागरिकता दिने कुरा राम्रो नहुने बताएका छन्।