काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्।
पर्यटन विभागले जनाए अनुसार महामन्त्री शर्माले यसका लागि विभागबाट हिमाल आरोहणको अनुमति लिइसकेका छन्।
पर्यटन विभागका निर्देशक हिमाल गौतमले वसन्त ऋतुको जारी सगरमाथा आरोहणका लागि कांग्रेस महामन्त्री शर्माले अनुमतिपत्र प्राप्त गरेको पुष्टि गरेका छन्।
आरोहण एक्सपिडिसन कम्पनीका अनुसार यस वसन्त ऋतुमा हालसम्म ५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। आज राति पनि थुप्रै आरोही शिखरमा पुग्ने तयारीमा रहेको बताइएको छ।
पर्यटन विभागको तथ्याङ्क अनुसार यस वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४५ आरोही समूहका ४५८ जनाले अनुमति लिएका छन्। सगरमाथासहित अन्य २७ वटा हिमाल आरोहणका लागि १२४ समूहका कुल १ हजार १ सय ४० जनाले अनुमति पाएका छन्।
आफू सगरमाथा आरोहणका लागि बेसक्याम्पसम्म पुगेर ‘सेमिफाइनल’ पार गरिसकेको बताउँदै शर्माले अहिले नै सगरमाथाको चुच्चोमै बेला भइनसकेको बताएका छन्।
तर आरोहणका लागि प्रशिक्षण चाहिँ लिँदै गरेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
