झापा- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध वित्तीय कारोबारमा संलग्न ७ जनालाई झापाको मेचीनगर–१० धुलाबारीबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गिफ्टोरियम नामक आयात–निर्यात कम्पनी सञ्चालन गर्दै आएका व्यापारी कविस मारु, अनुज मारु, निर्मल राई, दिपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल र सुनिल राई रहेका छन्।
सीआईबीको टोली बुधबार बिहान ७ बजेतिर धुलाबारी पुगेर पहिला ६ जना र पछि थप एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय झापामार्फत काठमाडौं लगिएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले अवैध तरिकाले ठूलो परिमाणमा रकम परिचालन गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानमा अर्बौँ रुपैयाँ बराबरको अवैध कारोबारमा संलग्न रहेको खुल्न आएको छ। यद्यपि, उनीहरूबाट बरामद गरिएको रकमको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले पक्राउ परेकाहरूलाई काठमाडौं ल्याइसकेपछि मात्र ठोस विवरण सार्वजनिक हुने जानकारी दिए।
यसअघि पनि सीआईबीले अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई देशका ११ जिल्लाबाट पक्राउ गरेको थियो।
ती व्यक्तिहरूले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढीको अवैध कारोबारमा संलग्न रहेको पाइएको थियो। झापामा अहिले पक्राउ परेका व्यक्तिहरूको सम्बन्ध अघिल्ला पक्राउ परेकासँग रहेको सीआईबीले जनाएको छ।
