झापा- ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार निर्माणको बाटो खुलेको छ।
पाथीभरा क्षेत्रमा प्रस्तावित केबलकार परियोजनाले वातावरणीय सन्तुलनमा असर पार्ने र लिम्बु समुदायको मुन्धुमी सभ्यतामाथि संकट ल्याउने भन्दै रोक लगाउन माग गरिएको रिटमा सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेपछि निर्माणको ढोका खुलेको हो।
२०७८ चैत ७ गते यामबहादुर लिम्बुसहित आठ जनाले पाथीभरा देवी दर्शन केवलकार प्रा.लि. लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसअनुसार प्रारम्भिक सुनुवाइमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले केबलकार निर्माण तत्काल रोक्न आदेश दिएको थियो।
तर आज भएको सुनुवाइमा न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेशलाई निरन्तरता नदिने निर्णय गरेको छ। यससँगै केबलकार निर्माण अघि बढ्न सक्ने स्थिति बनेको हो।
रिट निवेदक पक्षबाट अधिवक्ता प्रेमचन्द्र राई, लबन न्यौपाने, पदमबहादुर श्रेष्ठ र बिनोदमणि भट्टराईले बहस गरेका थिए भने विपक्षी पाथीभरा देवी दर्शन केवलकार प्रा.लि.का तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, सतिशकृष्ण खरेललगायतले बहस प्रस्तुत गरेका थिए।
केबलकार निर्माणले लिम्बु समुदायको धार्मिक र सांस्कृतिक पहिचानमाथि असर पार्ने भन्दै स्थानीय समुदायले आन्दोलन चर्काएका थिए। आन्दोलनका क्रममा सुरक्षाकर्मीको हस्तक्षेप हुँदा केही व्यक्ति घाइतेसमेत भएका थिए।
