नयाँ दिल्ली- भारत र पाकिस्तानबीच कूटनीतिक तनाव पुनः चुलिँदै गएको छ। मङ्गलबार दुवै देशले एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने निर्णय गरेका छन्।
पाकिस्तानले भारतका एक कूटनीतिज्ञमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै उनलाई ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरेको छ। इस्लामावादस्थित भारतीय उच्चायोगका ती अधिकारीलाई २४ घण्टाभित्र पाकिस्तान छाड्न आदेश दिइएको पाकिस्तानी परराष्ट्र मन्त्रालयले जनाएको छ।
पाकिस्तानी विदेश मन्त्रालयका अनुसार भारतीय कार्यवाहक राजदूतलाई मन्त्रालयमा बोलाई सो निर्णयबारे औपचारिक जानकारी दिइएको हो। साथै, भारतीय नियोगका कर्मचारीहरूले आफ्नो कूटनीतिक भूमिकासँग मेल नखाने गतिविधिबाट जोगिन सुनिश्चित गर्न आग्रह पनि गरिएको छ।
यसअघि भारतले पनि नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा कार्यरत एक कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको थियो।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त अधिकारीले आफ्नो कूटनीतिक मर्यादाअनुरूप व्यवहार नगरेको आरोप लगाइएको छ। त्यसैले उनलाई २४ घण्टाभित्र भारत छाड्न निर्देशन दिइएको मन्त्रालयले स्पष्ट पारेको छ।
दुवै देशको यस्तो कदमले दुईपक्षीय सम्बन्धमा थप तनाव आउने संकेत देखिएको छ।
