झापा- झापाको भद्रपुरस्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कर्मचारीहरूबीच कार्यालयभित्रै कुटाकुट भएको छ।
सोमबार दिउँसो ४.५७ बजे सातौं तहका पशु चिकित्सक डा. सुजन राईले आफू मातहतका कर्मचारीहरूलाई कुटेका हुन्।
उनले प्राविधिक सहायक पाँचौं तहका रोहित महतलाई कार्यालयभित्रै कुटेका हुन्। भण्डारण कक्ष हेर्ने गरेका महतसंग नाइट्रोजन माग्दा यसअघिको पाँच सय रुपैयाँ नतिरेको भनेपछि राईले महतमाथि एक्कासी मुक्का हानेको बताइएको छ।
दुवैबीचको कुटाकुट छुट्याउन जाँदा चौथो तहका अर्का प्राविधिक दिवाकर सुनरोहित घाइते भएका छन्। राईले हातमा बोकेको हथौडा उनको टाउकोमा लागेको थियो।
सो घटनाको भिडियो अहिले भाइरल बनेको छ। भिडियोमा डा. राईले आक्रोशित भएर महतमाथि जाइलागेको देखिन्छ।
घटनाबारे जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा कार्यालयमा भएको उक्त घटनाले बाहिर राम्रो सन्देश नगएको र कार्यालय अनुशासन पालना गराउन कार्यालय प्रमुखलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
उनले भने, ‘कसैलाई अन्याय भएको छ भने कानुनबमोजिम कारबाहीका लागि उजुरी हाल्न भनिएको छ।’