काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको बताएका छन्।
शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा दलहरू चहिने तर राजनीतिक दलहरू स्वार्थ समूह बनिरहेको बताए।
उनले लोकतन्त्रमा राजनीतिक दलहरू नै विचारका वाहक हुने बताए।
उनले राजनीतिक दलहरूको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गरे । उनले नेपालका राजनीतिक दलहरू नयाँ रहेको र दलहरू विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सिमित रहेको बताए।
उनले राजनीतिक दलहरूले सरकारलाई बिना लगानी सम्पती आर्जन गर्ने माध्यम बनाएको बताए । राजनीतिक दलहरू विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुन नसकेको उनको भनाइ छ । दलीय आवद्धता अब नेपालका निम्ति ठूलो बाधक बनिरहेको जिकिर उनले गरे ।
अध्यक्ष भट्टराईले भने, ‘हाम्रा दलहरु चाहिन्छ । लोकतन्त्रमा दलहरु नै विचारका वाहक हुन्छन् । तिनको प्रतिष्पर्धाले नै लोकतान्त्रिक वातावरण बनाउँछ । लोकतान्त्रिक जगमा नै विकास हुन्छ भन्ने सामान्य विकासको नियम पनि हो । तर हाम्रा दलहरु भर्खर भर्खर बनेको हुनाले ति दलहरु विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्ता बनेका छन् । जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, त्यसको दोहन गर्ने, छिटो सम्पती आर्जन गर्ने । बिना लगानी सम्पत्ति आर्जन गर्ने, एउटा थलो जस्तो हाम्रो राजनीतिक दलहरु बनेका छन् । त्यसो भएको हुनाले राजनीतिक दलहरु भनेको विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुनुपर्छ । तर राज्य दोहनका साधन बनेका छन् । त्यसैले दलीय आवद्धता अब हाम्रो निम्ति असाध्यै ठूलो बाधक बनिरहेको छ ।’
अध्यक्ष भट्टराईले नेपाली अर्थतन्त्रलले साँच्चै नै गुणात्मक फड्को मार्ने हो भने गैरआवासीय नेपालीहरूको भूमिका अहम् हुने बताए।