काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी पक्राउ परेका छन्।
उनी आज बुधबार दिउँसो १ बजेतिर नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका हुन्।
उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए।
उनको आममाफीविरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले रेशमलाई तत्काल पक्राउ गरी थुना राख्न आदेश दिएकाले उनलाई पक्राउ गरिएको अधिकारीले बताए।
उनी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका छन् । आज हुने भनिएको एकता कार्यक्रम बिथोलिएपछि उनीहरूले नाराबाजी गरेका हुन्।
उनीहरूले नागरिक जनमत पार्टी जिन्दावाद, रेशम चौधरीलाई रिहा गर भन्दै सरकारको विरूद्धमा नारा लगाएका छन् । आज कार्यक्रमस्थलबाट नै रेशम चौधरी पक्राउ परेसँगै एकताको कार्यक्रम स्थगित भएको छ।
पार्टीका नेताले सरकारले मधेस र थरूहटलाई एक ठाउँ आउन नदिनको लागि यो चाल चलेको आरोप लगाएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषणा गर्ने गरि पार्टीले सूचना जारी गरेको थियो ।