काठमाडौँ- सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षबिहीन भएको छ।
छलफललाई निरन्तरता दिने सहमति मात्र भएको वार्तामा सहभागी शिक्षक प्रतिनिधिले जनाएका छन्।
शनिवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासंघका प्रतिनिधि बीचको छलफलमा संवादलाई निरन्तरता दिने सहमति भएको हो ।
शनिवार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो । वार्ताले छलफललाई निरन्तरता दिने र आन्दोलनका क्रममा शिक्षकहरुले उठाएका मागहरु पूरा हुनुपर्ने माग शिक्षकहरुले गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
उनले शिक्षक महासंघ अहिले आन्दोलनमा रहेको र आन्दोलनका क्रममा उठाएका विषयवस्तुहरु मन्त्री पन्तसँग छलफल भएको बताए।
उनले बैठकले छलफल र संवादलाई निरन्तरता दिने निर्णय गरेको बताए ।
उनले भने, ‘नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ । आन्दोलनका क्रममा हामीले उठाएका विषयवस्तुका बारेमा माननीय मन्त्रीज्युको समुपस्थितिमा छलफल भयो । छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको छ ।’
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले सरकारले शुक्रवार दोस्रो पटक गरेको परिपत्रको आधारमा औपचारिक छलफलमा आएको बताए ।
उनले अहिले नै निस्कर्षमा पुगि नसके पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल सरकारले आफूहरुका माग पूरा गरेको खण्डमा निस्कर्षमा छिटै पुग्ने बताए ।