काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई तीन खम्बे अर्थनीतिको एक खम्बा हो भन्ने प्रमाणित गर्न सबैले भावनात्मक रुपले अगाडि बढ्न जरुरी रहेको बताएका छन्।
६८औँ राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सहकारी ऐन, ०७४ ले सहकारीका सहकारीका समस्याहरू अटाउन नसकेको कारण सरकारले अध्यादेशमार्फत कानून बनाएको स्पष्ट पारेका हुन्।
उनले सरकारले सहकारीहरूको व्यवस्थापनका लागि नियमन प्राधिकरण, कर्जा असुली न्यायाधीकरण तथा वचत सुरक्षण कोष आवश्यक रहेको महसुस गरेर ऐन संशोधन गरेको जिकिर गरे।
उनले भने, ‘सहकारीमा देखिएका समस्याहरू र सहकारीहरूलाई भड्काएर फाइदा लिन खोज्ने तत्वहरुले विभिन्न खाले अभियान चलाएको हुनाले त्यसलाई नियन्त्रण गर्न ऐन बनाउन जरुरी थियो। त्यसका लागि ऐन बनाउने लामो प्रक्रियालाई कुर्ने हो भने सहकारी भाड्न खोज्ने तत्वहरु अझ बढी सल्बलाउँछन् भन्ने सोचका साथ अध्यादेशमार्फत विधेयक बनाएर पारित परेको अवस्था छ।’
सहकारीहरू व्यवस्थित रहेको सन्देश दिँदै सहकारीहरुलाई भाड्न खाज्नेहरूलाई खबरदारी गर्न जरुरी रहेको मन्त्री अधिकारीको भनाइ छ।