झापा- झापा र मोरङबाट प्रतिबन्धित लागुऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका-१ स्थितमा कोठा भाडामा बस्दै आएका २६ बर्षीय डेकबहादुर थापाको कोठामा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा फागुन २९ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले थापा सहित इलाम माङ्सेबुङ गाउँपालिका -३ की २५ बर्षीया अनु राई, झापा कमल गाउँपालिका-३ का २६ बर्षीय सुरज कुमाल, दमक-५ का २५ बर्षीय रकद धिमाल र दमक-७ का २८ बर्षीय बिरबहादुर पौडेललाई ट्रामाडोल ९० क्याप्सुल, स्पासपेन ७० चक्की र लागुऔषध खैरो हेरोइन ५ सय मिलिग्रामसहित नियन्त्रणमा लिएको थियो ।
यसैगरी फागुन २९ गते इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-२ का १९ बर्षीय बिशाल परियार र १८ बर्षीया अप्सरा राईलाई निजहरूकै घरबाट ट्रामाडोल २३६ क्याप्सुल र प्रतिबन्धित औषधी २३० चक्कीसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।