झापा- प्रेमिकाले धोका दिएको भन्दै झापाको कनकाई नगरपालिकामा एक युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्।
बिहीबार दिउँसो १२.२५ बजे कनकाई नगरपालिका ४ स्थित कोटीहोमनजिक सुनसरी इनरुवा ९ बलाह बस्ने १९ वर्षीय मिकेश चौधरीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका हुन्।
स्थानीयले देखेर प्रहरीलाई खबर गरेपश्चात् उद्धार गरी उनलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको लागि ल्याइएको छ। हाल गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ।
विगत ३–४ दिनदेखि बिर्तामोड ४ स्थित सोफा हाउसमा काम गर्दै आएका चौधरी कोटीहोम दक्षिणपट्टिको सडकमा आफ्नी प्रेमिकासंग हिँड्दै गर्दा उनीहरूबीच विवाद भएको थियो।
विवादका क्रममा चौधरीले आफ्नी प्रेमिका र आफूमाथि पेट्रोल छर्केका थिए। सँगै आत्मदाह गर्ने कोशिस गर्दा प्रेमिकाले भागेर ज्यान जोगाएकी छन् भने उनले आफ्नो शरीरमा आगो सल्काएका थिए।
घटनापछि चौधरी थरकी ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेको दुवै हात र पिसाब थैलीको केही भाग, कम्मरको भाग र दुवै कानसहित शरीरको आधा भाग जलेको बताइएको छ।