चितवन- चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटिमा रिहा गर्न आदेश दिएको छ ।
बिहीवार अदालतले साहारा सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि यस्तो आदेश जारी गरेको हो ।
साथै अदालतले साहारा सहकारी ठगी प्रकरणमा संलग्न नरहेको भनेर अहिले नै भन्न नसकिने अवस्था नरहेको भन्दै ५४ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको चितवन जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले बताए।
धरौटी वा जमानत दिननसके कानून बमोजिम थुनामा राख्न पनि आदेश दिएको छ । उनले भने, ‘तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम ५४ लाख (चौवन्न लाख रुपैयाँ) धरौटी वा जमानत वा बैंक जमानत लिनु । सो लिन नसके कानून बमोजिम थुनामा राख्नू ।’
कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।