झापा- मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतका ६ वटा संस्थाले माघ १५ गते मंगलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।
पाथीभरामा शनिबार भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्तालगायतका माग राख्दै मुक्कुुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले संयुक्त विज्ञप्ति प्रकाशित गरी बन्दको आह्वान गरेका हुन् ।
सात बुँदे आन्दोलनको कार्यक्रममा उनीहरुले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङतर्फ छिर्ने नाकाहरूमा अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेका हुन् ।
ती संगठहरूले चन्द्र ढकालले सञ्चालन गरेको आइएमई बैंकको खाता बन्द गर्न आह्वान गरेका छन् भने माघ १४ गते बैंकको अगाडि शान्तिपूर्ण धर्ना दिने बताएका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, झापा, मोरङ, सुनसरीको ग्लोबल आइएमई बैंक बन्द गर्नुपर्ने माग पनि राखेका छन् ।
चन्द्र ढकाल र उनका कार्यकर्ता रुद्र पौडेललाई ताप्लेजुङ प्रवेश निषेध गर्ने, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलाई जिल्ला बाहिर प्रवेश निषेध गर्ने, पाथीभरा क्षेत्र विकास समिति खारेज गर्नुपर्ने, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुखले माफी माग्नुपर्ने र कारबाही गर्नुपर्ने तथा राज्य आतंक, प्रहरी दमन र ज्यादती, केबलकार निर्माण खारेजीका विषयमा कोणसभा गर्ने उल्लेख छ ।
शनिबार ‘नो केबलकार समूह’ र प्रहरीबीच दुई पटक झडप भएको थियो । झडपका क्रममा गम्भीर घाइते तीन जनालाई उपचारका लागि काठमाडौं पुर्याइएको छ । जिल्ला अस्पताल ताप्लेजुङमा प्राथमिक उपचारपछि शनिबार राति स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोलीले नोबेल अस्पताल पुर्याएको थियो । नोबेलबाट नेपाली सेनाको वायुयानबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिकाका यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ–५ का सगुन लावती र फुङलिङ–८ दोखुका धर्मेन्द्र पालुङ्वालाई उपचारका लागि काठमाडौँ लगिएको छ । लिम्बू र लावतीलाई गोली लागेको छ । लावतीको खुट्टामा र लिम्बूको कोखामा गोली लागेको जनाइएको छ । पालुङ्वाको भने कुममा चोट लागेको अस्पतालले जनाएको छ ।
झडपका क्रममा घाइते मेरिङदेन गाउँपालिकाका विशाल श्रेङ लिम्बू र पाँचथरको मिक्लाजुङ–५ का मंगल लावती उपचारपछि ताप्लेजुङ अस्पतालबाटै फर्किएका छन् ।
नेपाल प्रहरीका इन्स्पेक्टर रोहित शर्मासहित जवानसम्मका १२ र सशस्त्र प्रहरीका ९ जना घाइते भएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । दुवै पक्षले आफ्नो कारणले झडप नभएको दाबी गरेका छन् ।
आन्दोलनकारीले ढुंगामुढा गरेर गुलेली हानेपछि गोली हान्न बाध्य भएको प्रशासनले जनाएको छ भने नो केबलकार समूहले शान्तिपूर्ण आन्दोलनको तयारी गरिरहँदा प्रहरीले अन्धाधुन्ध आक्रमण गरेको दाबी गरेको छ ।
संयुक्त विज्ञप्तिमा शनिवार साँझ खाना खाइरहेको अवस्थामा गोली चलाएको र कुटपिट गरी थुप्रैलाई घाइते बनाएको दावी गरिएको छ । लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई ताप्लेजुङ प्रहरीले हिरासतमा राखेको छ भने कतिपय घाइतेहरू सम्पर्कमा आउन नसकेको जनाइएको छ ।
यसैबीच राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले पाथीभरा क्षेत्रमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रतिष्ठानले एक प्रेस विज्ञप्ति जारी गरी घटनाका सम्बन्धमा तत्काल आन्दोलनरत पक्षसँग संवाद गरी समस्याको समाधान खोज्न सरकारसमक्ष माग गरेको छ । साथै संयमता अपनाउन आन्दोलनरत पक्षसमक्ष अपिल गरेको छ ।
यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं १ समितिले प्रेस विज्ञप्ति जारी गरी मुक्कुम्लुङ संरक्षण अभियन्ता र सरकार पक्षबीच वार्ता गरी मुक्कुम्लुङको अस्तित्व कायम राख्न र घाइतेहरूको उपचार सरकारबाटै गराउन माग गरेको छ ।