जनकपुरधाम- मधेस सरकारले ल्याएको मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै युवाहरूले मधेसका मुख्यमन्त्री तथा शिक्षा र संस्कृतिमन्त्रीको पुतला दहन गरेका छन् ।
मधेस प्रदेश सभामा पेश भएको विधेयकमा मधेसमा बोलिने मातृभाषालाई छोडेर अन्य अन्य भाषाहरूलाई समावेश गरिएको भन्दै युवाहरुले मुख्यमन्त्रीको पुतला दहन गरेका हुन् ।
प्रदेशसभा भवन अगाडी मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको पुतला दहन गरिएको छ ।
विधेयकमा मातृभाषाहरु छुटाएर आयातित भाषाहरूलाई स्थान दिइएको भन्दै आफूहरुले बिरोध स्वरुप पुतला दहन गरेको युवा फुलगेन महतोले बताए।
मधेसका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले बुधवार मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक सदनमा पेश गरेका थिए ।
सो विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाको रुपमा समेटिएको छ ।