झापा- झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको छ ।
सोमबार बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सवस्थलमा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पूरा भएको जानकारी दिएको हो।
कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान तुल्याउने र स्थानीय उत्पादनको प्रवर्द्धन गरिने महोत्सवमा एक सय ५०सुविधासम्पन्न व्यापारिक प्रर्दशनी कक्ष रहने विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए।
यही माघ ८ देखि १९ गतेसम्म विर्तामोडकोे वडा नं ५ मा महोत्सव सञ्चालन हुने भएको छ । जहाँ एक सय १८ प्रर्दशनी कक्ष अट्ने नेपालको सबैभन्दा ठूलो ह्याङ्गर प्रयोगमा ल्याइने भएको छ । महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नेछन्।
‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को प्राविधिक तयारी अन्तिम चरणमा पुगेको र प्रर्दशनी कक्ष निर्माण सम्पन्न भइसकेको महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए।
“सार्क राष्ट्रका व्यवसायीले प्रर्दशनी कक्ष राख्ने निधो भइसकेको छ,” उनले भने,“स्थानीय उद्योगका उत्पादनले पनि व्यवसाय प्रवर्द्धनको अवसर पाउनेछन् ।” महोत्सवमा सुनदेखि नूनसम्मका स्वदेशी उत्पादन र गाडीदेखि गार्मेन्टसम्मका विदेशी उत्पादन राखिएको प्रर्दशनी कक्ष अवलोकनकर्ताका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा अवलोकनकर्ताको आगमन बढाउन मनोरञ्जनमूलक कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ । हरेक दिन कलाकारको साङ्गीतिक प्रस्तुति रहने भएको छ भने स्थानीय मौलिक पहिचान झल्किने कार्यक्रम राखिने व्यवस्थापक सिम्खडाले जानकारी दिए।
बिर्तामोड उद्योग वाणिज्य सङ्घले विगत लामो अवधिदेखि औद्योगिक तथा व्यापार महोत्सवको आयोजना गर्दै आएको छ ।