झापा- पूर्वी पहाडका किसानको आम्दानीको मुख्य स्रोत बनेको अलैँची स्थानीय बजारमा प्रतिमन एक लाख रुपियाँका दरले कारोबार भएको छ।
अलैँचीले यस्तो उच्च मूल्य १२ वर्षपछि पाएको हो। स्थानीय बजारमा मात्र होइन भारतमा पनि अलैँचीको मूल्यमा सुधार आएको व्यवसायीहरूले बताएका छन्।
नेपाली अलैँचीको मुख्य बजार भारतमा साताको पहिलो दिन सोमबार नेपाली अलैँचीले मूल्य पाएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले बताए।
“आज भारतको बजारमा गुणस्तरीय अलैँचीको नेपाली मूल्य एक लाख दुई हजार कायम भएको छ। यसलाई अलैँचीको बजारमा देखिएको सुधारको सङ्केत मान्नुपर्छ,” उनले भने।
तर किसानले उत्पादनले गरेको अलैंची अहिले किसानसँग छैन। उनीहरूले यस अघि नै व्यापारीलाई बेचिसकेका छन्। अहिलेको भाउबृद्धिले व्यवसायीलाई भने मनग्गे फाइदा दिने देखिन्छ।
अध्यक्ष पौड्यालले भने, “यहाँ उत्पादित ५० प्रतिशत अलैँची हाम्रो बजारबाट बाहिरिएको छ। अब बाँकी ५० प्रतिशत अलैँची अर्को फसल उत्पादन हुनुअगाडि नै बाहिरिने अवस्था छ। यस कारण पनि अलैँचीको मूल्यको सङ्केत राम्रो छ।”
उनले १२ वर्षपछि अलैँची प्रतिमन एक लाख रुपियाँका दरले कारोबार भएको बताए। अलि साना दाना भएको अन्य जातको अलैँची भने प्रतिमन ९५ हजारदेखि ९९ हजार रुपियाँसम्म कारोबार भएको पौड्यालले बताए।
राम्रोसँग सुकाएर राखेको, पुच्छर काटेको अलैँचीको अझै मूल्य बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।