काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालय केही व्यक्तिहरुका कारण असुरक्षित रहेको भन्दै असुरक्षित अवस्थाको अन्त्य गर्न आवश्यक पर्दा सरकारले हस्तक्षेप गर्नुपर्ने बताएकी छन्।
बिहीवार सरकार गठनको सय दिनको अवसरमा मन्त्रालयबाट भएको प्रमुख उपलब्धिहरुको सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।
उनले विश्वविद्यालय राजनीतिक दल र विद्यार्थी युनियनहरु भन्दा बाहेकको एउटा समूहबाट असुरक्षित भएको बताइन् । उनले सो समूह विश्वविद्यालयमा निरन्तर बस्ने र प्राध्यापकहरुलाई धम्क्याउने गरेको भन्दै त्यसको अन्त्यका लागि सरकारले हस्तक्षेप गर्नुपर्ने बताइन्।
उनले विभिन्न विश्वविद्यालयहरु तालाबन्दीको अवस्थामा हुँदा तालाबन्दी अन्त्यका लागि सरकारले उच्च स्तरीय आयोग बनाउन लागेको जानकारी दिइन् ।
आयोगले अध्ययन सकेपछि विश्वविद्यालयमा हुने हस्तक्षेपलाई रोक्न मापदण्ड बनाइने र सोही अनुरुप विश्वविद्यालयलाई निर्देश गर्ने उनले बताइन्।