झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गिरीबन्धु चिया बगान नजिक प्रदर्शन गरेका छन्।
गिरीबन्धु चिया बगानको जग्गा बेच्न कानुनी अड्चन फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका रहेको भन्दै रास्वपा कार्यकर्ताले झापा बिर्तामोडमा रहेको गिरीबन्धु चिया बगान कार्यालय अगाडि शनिवार प्रदर्शन गरेका हुन्।
रास्वपाले शनिवार देशभर प्रदर्शन गरेको छ। सोही क्रममा प्रधानमन्त्री ओलीसमेतको गृह जिल्ला झापामा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका हुन्।
बिर्तामोडको मुक्ति चोकबाट करिब १ बजे सुरु भएको र्यालीले गिरीबन्धु टी स्टेट बुट्टाबारी पुगेर सरकारविरुद्ध चर्का नाराबाजी गरेको थियो। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए।
बुट्टाबारीबाट र्याली बिर्तामोड मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभाका वक्ताहरूले सहकारीका खास ठगहरूलाई सरकारले संरक्षण गरेको आरोप लगाएका थिए।
उनीहरूले प्रधानमन्त्री ओली भ्रस्टाचारीको संरक्षक भएको आरोप लगाएका छन्। सहकारी ठगी तथा संगठित अपराध मुद्दामा लामिछाने शुक्रबार साँझ पक्राउ परेर हाल कास्की प्रहरीको हिरासतमा छन्।