झापा । गएराति झापाको शिवसताक्षी नगरपालिका–९ स्थित नहर चौकमा मोटरसाइकल र स्कुटी एकापसमा ठोक्किँदा चारजना घाइते भएका छन्।
राति अन्दाजी १०.४५ बजे दुधेबाट शिवगंजतर्फ जाँदै गरेको प्र१–०१–०१७प ४६८७ नम्बरको स्कुटी र बिपरित दिशाबाट आउँदै गरेको प्र १–०१–०१५प ५०७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी ७ बस्ने ३१ वर्षीय देवलाल राजवंशी, मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने १७ वर्षीया ममता राजवंशी, स्कुटी चालक शिवसताक्षी ११ बस्ने ३० वर्षीय सबिन पौडेल र स्कुटी पछाडि सवार सोही ठाउँ बस्ने २५ वर्षीय प्रबिन बस्नेत घाइते भएका छन्।
घाइतेहरुलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ। दुबै सवारी साधन इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको छ।
त्यस्तै हिजो बिहान १०:४० बजे गौरादह नगरपालिका वडा नम्बर ३ धोवनियास्थित गौरादह– गौरिगंज भित्री पक्की सडकखण्डमा गौरीगञ्जबाट गौरादहतर्फ आउँदै गरेको मे.११प ४५९१ नम्बरको स्कुटी र बिपरित दिशाबाट जाँदै गरेको मे १ ह ४०८८ नम्बरको अटो एकआपसमा ठक्कर खाइ दुर्घटना भएको छ।
दुर्घटनामा स्कुटी चालक गौरादह १बस्ने ३२वर्षीया सुशिला शेर्मा, स्कुटीमा पछाडी सवार उनकै छोरा ९ वर्षीय सौगात लिम्बू, सोही स्कुटी पछाडी सवार इलाम माङसेबुङ गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीया रीतु लिम्बू घाइते भएका छन्।
घाइते तीनैजनालाई उपचारको लागि मेडिम्याक्स अस्पताल गौरादह पठाइएको छ। अटोचालक कमल गाउँपालिका वडा नम्बर ५ बस्ने ४२ वर्षीय मित्रबहादुर राई र अटो, स्कुटी इलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा रहेको छ। हिजो चौबीस घण्टामा झापामा ९ वटा दुर्घटना भएका थिए। ती दुर्घटनामा परी २३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।