काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमणमा आफूलाई गरेको सम्मानलाई सबै नेपालीहरुलाई गरेको सम्मानका रुपमा ग्रहण गरेको बताएका छन्।
निर्मल निवासमा शनिवार सर्वसाधारणलाई विजया दशमीको टिका लगाउने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले यस्तो बताएका हुन्।
उनले केही दिनअघि मात्रै आफू भुटान गएको र भुटान भ्रमण निजी भ्रमण रहेको बताए। भुटान भ्रमणको बारेमा सबैको चासो र जिज्ञासा रहेको उनले बताए।
पूर्वराजा शाहले भुटानको राजपरिवार र भुटानी जनताले आफूलाई दर्शाएको स्वागत, सम्मान र मित्रतालाई आफूले सम्पूर्ण नेपालीहरु र नेपालालई गरेको सम्मानका रुपमा लिएको बताए।
उनले नेपाललाई गरेको स्वागतका लागि भुटानी जनता र राजपरिवारलाई कृतज्ञता पनि व्यक्त गरे।
उनले भने, ‘तपाईंहरुमार्फत सबै नेपालीलाई शुभकामना छ, विजया दशमीको । अहिले हालै म भुटान गएको थिएँ। त्यसको अहिले चासो र जिज्ञासा भएको छ। त्यो निजी भ्रमण थियो। त्यहाँका राजपरिवार र भूटानी जनताले मलाई दर्शाएको स्वागत, सम्मान, मित्रता । मैले के ठानेको छु भने त्यो नेपाल र नेपालीलाई गरेको हो भनेर मैले ठानेको छु। तपाईंहरुमार्फत म त्यहाँको राजपरिवार र जनतालाई हृदयदेखि हार्दिक धन्यवाद, कृतज्ञता दिन चाहन्छु।’
पूर्वराजा शाहले विजया दशमीको शुभ अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।