काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार, सहयोग र पुनर्निर्माणको कामका जुट्न आह्वान गरेका छन्।
मुलुकमा विपद्ले निम्त्याएका संकट समाधानलगायतका विषयमा मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सरकारले पीडित जनताको उद्धार तथा राहतका लागि सक्दो पहल गरेको र केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने बताए।
पीडित जनताको उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरु गर्ने बेला भएकाले यसमा सम्पूर्ण नेपालीहरु एकजुट हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
उनले सिंगो मुलुक विपदमा परेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर सामना गर्नुपर्ने बताए ।
विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्याएर मर्का पारेको नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको सामना गर्ने कुरामा सबै लाग्नुपर्ने बताए ।