झापा । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज)मा अब एसईई उत्तीर्ण विद्यार्थीका लागि सिभिल ओभरसियर, कम्प्युटर ओभरसियर र इलेक्ट्रिकल ओभरसियरका कक्षाहरू सञ्चालन हुने भएको छ।
मंगलबार कलेज व्यवस्थापनले पत्रकार सम्मेलन गरेर ओभरसियरका कक्षाहरू सञ्चालन गर्नेबारे जानकारी दिएको हो। उक्त कोर्सका लागि मंगलबारदेखि फार्म खुलेको छ।
कलेजका कार्यकारी प्रमुख अनुज पराजुलीका अनुसार एसईई पूरक परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी भर्ना खुलाइएको हाे।
दुई वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरू सञ्चालन गर्दै आएको कलेजमा सिटिइभिटीका कक्षाहरु सञ्चालन हुने भएको कलेज व्यवस्थापन समितिका अध्यक्ष युवराज प्रसाईंले बताए। सोही कोर्सका लागि आसपासका सामुदायिक विद्यालयमा लिइने शुल्क भन्दा कममा पढाइने प्रसाईंकाे भनाइ छ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पाथिभरा इन्जिनियरिङ कलेज पूर्वको पहिलो र एक मात्र निजी इन्जिनियरिङ कलेज हो। कलेजमा सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङको कक्षा पनि सञ्चालन हुँदै आएको छ।