विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनसन बसेको स्थलबाट प्रशासनले बल प्रयोग गरि हटाएको छ ।
विराटनगर प्रदेश सभा भवन बाहिर देवकोटा चौक नजिक अपरान्ह ४ बजेबाट अनसनमा बसेका निवर्तमान मुख्यमन्त्री कार्कीलाई बेलुका करिब साढे ७ बजे प्रहरीले बलजफ्ती उठाएको हो।
यसक्रममा कार्कीका समर्थक र प्रहरीबीच दोहोरो झडप भएको छ ।
कार्कीले सोमबार नै अनसन बस्ने स्थल तोकेपछि मंगलबार दिउँसो प्रशासनले जिल्लाका विभिन्न पाँच स्थानलाई निषेधाज्ञा तोकेको थियो ।
जसमा देवकोटा चौक नजिकको क्षेत्र पनि रहेको थियो । अनसन बसेसंगै प्रहरीको टोलीले कार्कीलाई स्थानबाट हटाउने प्रयास गरेको थियो ।
त्यसक्रममा मोरंगका प्रहरी प्रमुख नवराज कार्कीसमेत पुगेका थिए । कार्कीले आफ्नो माग पुरा नहुञ्जेल स्थान नछाड्ने जनाएपछि प्रहरी हस्तक्षेप गरेको हो ।
यसक्रममा ढुंगामुढासमेत भएको र केही मानिस घाइते भएका छन् । प्रहरीले कार्की समर्थकलाई समेत पक्राउ गरेको जनाएको छ ।
आफ्नो कार्यकालमा घोषणा भएका योजना तथा कार्यक्रम वर्तमान सरकारले कटौती गरेको विरोधमा उनले अनशन थालेका थिए।