खबरमञ्च, भद्रपुर । सरकारले बृहत्तर धान उत्पादन कार्यक्रम लागु गरे पनि धान उत्पादनमा मुख्य भूमिका निर्वाह गर्ने झापाका अधिकांश पुराना किसानले यस बर्ष चैते धान लगाउन इच्छा देखाएनन् । लगाएको धान खेतिको लगानी समेत नउठ्ने भएकाले आफूहरुले चैते धान नलगाएको किसानहरुको गुनासो छ ।
झापा शनिअर्जुन नगरपालिका ८ का किसान जीवनाथ बरालले गत सालसम्म एक विगाह जग्गामा चैते धान लगाउँथे । तर यस बर्ष उक्त धान लाग्ने खेत बाँझै छ । शनिअर्जुन नगरपालिका ८ कै दिनानाथ अधिकारीले पनि चैते धान लगाउन मन गरेनन् ।
भारतबाट धेरै मात्रामा धान चामल भित्रिने गरेका कारण आफूले पाएको धानको मूल्यले लगानी पनि नउठने अधिकांश किसानले गुनासो गर्ने गरेका छन् ।
सिँचाई आयोजनाहरुको नहरमा पानी हुँदा समेत बुधबारे, शनिअर्जुन, पाँचगाछी, शिवगञ्ज लगायतका स्थानहरुका अधिकांश किसानले चैते धान लगाएनन् ।
सरकारले यसै बर्षदेखि बृहत्तर धान उत्पादन कार्यक्रम लागु गरे पनि चैते धान उत्पादनको प्रमुख जिल्लाहरुमध्येको झापामा पुराना व्यवसायिक किसानहरुले चैते धान लगाउन छोड्नु दुर्भाग्य भएको कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमिल्सिना बताउँछन् ।
कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार धानको न्यूनतम मूल्य तोक्ने विषय आउँदो आर्थिक बर्षको बजेटमा समावेश गर्न अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको छ ।
गत बर्ष झापामा करीब २० हजार हेक्टर जमिनमा करीब ९२ हजार मेट्रिक टन चैते धान उत्पादन भएको कृषि विकास कार्यालय झापाले जनाएको छ ।