झापा । झापाको बिर्तामोड नगरपालिकाले बिहीवार छ वटा सडक निर्माण योजना तथा एउटा सामुदायिक पर्यटन क्षेत्र निर्माणको एकसाथ शिलान्यास गरेको छ।
महिलाले नेतृत्व गरेका देशभरका १३ वटा स्थानीय तहलाई नमूना शहरअन्तर्गत पूर्वाधार निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराउँदा बिर्तामोड नगरपालिका पनि त्यस्मा परेको हो। बिर्तामोड नगरपालिकामा पनि महिला नेतृत्व रहेको छ। नेकपा एमालेबाट चुनावी प्रतिस्पर्धा गरेकी पवित्रा महतारा प्रसाईं बिर्तामोड नगरपालिकाकी प्रमुख हुन्।
सोही बजेट बिर्तामोडका ७ वटा योजनामा खर्च हुने भएको हो। ६ वटा कालोपत्रे सडक र एउटा सामुदायिक पर्यटन क्षेत्र निर्माण हुने भएको छ। सो बजेटबाट एभरेष्ट स्कुल हुँदै हरिहर आश्रमदेखि मियावारी बिर्ताबजारसम्म १२४० मिटर, करेलावारी माधव न्यौपानेको घर हुँदै वडा नं १० को विराट आधारभूत स्कुल जोड्ने सडक १३०० मिटर, पूर्वपश्चिम राजमार्ग उत्तर अतिथि सदन हुँदै अर्जुनधारा नगरपालिकाको सिमाना जोड्ने सडक ९०० मिटर, सांगवेद खादोसरी मार्ग हुँदै पूर्व गौरव पेट्रोलपम्पबाट दक्षिण बानालाल मार्गसम्म ९४० मिटर, गरामनी त्रिवेणी चौकबाट कटहरवारी हुँदै हल्दीवारीसम्म १२३७ मिटर, पंचकन्या धर्मकाँटा उत्तर अर्जुनधारासम्म १२०० मिटर कालोपत्रे बाटो निर्माण हुने भएको हो। त्यस्तै हरियाली सामुदायिक पर्यटन क्षेत्रको निर्माण हुने भएको छ।
बिर्तामोडमा महिला मेयर भएको हुनाले नमूना शहर निर्माणको लागि बजेट प्राप्त भएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिइन्। बिर्तामोडमा अन्य स्थानीय तहको भन्दा धेरै सडक भएकाले एकै पटक सबै आयोजना निर्माण गर्न नसकिएको उनले बताइन्। उनले क्रमैसँग निर्माणको कामलाई अघि बढाइने जानकारी दिइन्।
७ वटै योजनाको एकीकृत रुपमा ठेक्का दिइएको छ। शान्ति उद्धेश्य निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ। निर्माण कम्पनीका प्रोप्राइटर नयन बरालले समयमा र गुणस्तरीय काम गर्ने प्रतिबद्वता जनाए। एक वर्ष आठ अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने गरि सडक ठेक्का लागेको हो। समयमा बजेट उपलब्ध भए ६ महिनामा निर्माण सम्पन्न गर्ने प्रतिबद्वता उनले जनाए।
शहरी विकास कार्यालयका इन्जिनियर सुरेशकुमार चौधरीका अनुसार भ्याटबाहेक ६ करोड ३१ लाखको लागतमा निर्माणको लागि ठेक्का लागेको छ। १३ करोड बजेट रहेकोमा शान्ति उद्धेश्य निर्माण सेवाले ३५ प्रतिशत घटीमा ठेक्का लिएको हो।