काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनै पनि सामाजिक सञ्जालहरु नेपालमा चलाउँदा आपत्ति नहुने बताएका छन्।
बिहीवार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरु उत्पादन र प्रशारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानूनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन् ।
उनले सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताइन् । उनले नियम कानूनको पालना गर्नेहरुले टिकटक चलाउन नहुने बताइन् ।
उनले सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको बताइन् । सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रीपरिषद्मा पेश गरिएको जानकारी दिँदै अब संसदीय समितिमा गइ व्यापक छलफल हुने विश्वास व्यक्त गरिन् ।
उनले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमँ दर्ता गर्ने प्रक्रियामा रहेको बताइन्। मन्त्री शर्माले नेपालका कानूनहरु, नेपालको समाजको महत्व आफ्नै भएकाले सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरु आउँछन् भने आपत्ति नरहेको बताइन् ।
टिकटक नाममा समस्या नभइ कन्टेनमा समस्या रहेको भन्दै नेपालको नियम कानून र सोसल भ्याल्युलाई मानेर आउँदा र नेपालमा दर्ता भइ स्वनीयमन कायम गरे सबै सामाजिक सञ्जाल चलाउन सकिने बताइन् ।