झापा । नयाँ शैक्षिक सत्रमा प्रायजसो सामुदायिक विद्यालयहरुको एउटै समस्या हुन्छ, विद्यार्थी भर्नाका बेला विद्यार्थी नपाइने । भर्ना कार्यक्रम त सुरु गरिन्छ तर नयाँ भर्नाहुने विद्यार्थीको संख्या भने लगभग शुन्यजस्तै हुन्छ ।
नयाँ भर्ना त परै जाओस, पुराना विद्यार्थीको संख्या पनि घटेको घट्यै छ । प्रायजसो बिद्यालयहरुको यो अवस्थाका माझ झापामा एउटा यस्तो सामुदायिक बिद्यालय पनि छ जहाँ ठाउँ अभावका कारण चालु शैक्षिक बर्षमा नयाँ भर्ना हुन आउने बिद्यार्थीहरुलाई पनि भर्ना लिन सकिएन ।
हो, सामुदायिक विद्यालयले पनि गर्न चाहेको खण्डमा निजी विद्यालय भन्दा राम्रो कक्षाको व्यवस्थापन गर्न सक्छ भन्ने कुराको एउटा गतिलो उदाहरण पनि बनेको छ यो विद्यालय । यो बिद्यालय हो दुहागढी ७, झापाको बालसुबोधिनी निम्न माध्यमिक विद्यालय ।
यसपटक बालसुबोधिनीमा नयाँ भर्ना हुन आउने बिद्यार्थीको संख्या एक सय रहेको छ । यो संख्या कुनै पनि सामुदायिक बिद्यालयको लागि ठुलो हो । नर्सरीमा मात्र भर्ना हुन आउनेको संख्या चालिस माथि रहेको बिद्यालयका प्रधानाध्यापक विश्व थापाले जानकारी दिए ।
हाल यस बिद्यालयमा जम्मा बिद्यार्थीको संख्या चारसय पाँच रहेको छ । बिद्यालयमा हाल कक्षा ४ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुन्छ । जसका लागी अंग्रेजी बिषयका छुट्टै चार जना शिक्षकको समेत व्यवस्था गरिएको छ । बिद्यालयका प्रअ थापाका अनुसार हाल बिद्यालयले नै नर्सरीका बिद्यार्थीका लागि खाजाको व्यवस्था गरिरहेको छ ।
त्यसैगरी अंग्रेजी माध्यमको पुस्तकका लागि भने सहयोग स्वरुप अभिभावकबाट पाँचसय रुपैयाँ लिइरहेको छ । यो रकम निजी बिद्यालयका अभिभावकले तिरे भन्दा तिन गुणाले सस्तो रहेको छ । आदिवासी समुदायका बिद्याथीहरुको संख्या ज्यादा रहेको यस बिद्यालयमा हाल भने पहाडि समुदायका नानीहरु पनि आउन थालेका बिद्यालयका प्रअ थापाले बताए ।
झापा दुहागढी ७ मा रहेको उक्त विद्यालय २०७१ साल निमावि तर्फको झापाकै उत्कृष्ट विद्यालयको रुपमा जिल्ला शिक्षा कार्यालयले घोषणा गर्नुका साथै पुरस्कृत समेत गर्यो । त्यो भन्दा अघिल्लो साल अर्थात २०७० साल उक्त विद्यालयले उत्कृष्ट बाल विकास कक्षा सञ्चालन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय झापाले पुरस्कृत समेत गरेको थियो ।
सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकहरुको आकर्षण घटिरहेको अवस्थामा उक्त विद्यालयले सुविधा सम्पन्न बालमैत्री कक्षाहरुको व्यवस्था गरेर ससाना बाल बालिकालाई व्यवहारिक ज्ञान दिइरहेको छ ।
बिद्यालयमा कक्षा ८ का विद्यार्थीलाई जैविक खेती सम्बन्धि शिक्षा समेत दिइन्छ । गएको शैक्षिक बर्षमा उनीहरुले करीब डेढ क्विन्टल बन्दा कोपी फलाए । उनीहरुले गँड्यौली मल बनाएर सोही मलको उपयोग गरेर बन्दा फलाएका हुन् ।
बाल बिकास कक्षा मात्र हैन , यो बिद्यालय देख्ने जो कोहि पनि यो बिद्यालय भित्र प्रवेश नगरी रहन सक्दैनन । खुल्ला ठूलो चौर भएको यस बिद्यालयका हरेक कक्षा कोठा बाल मैत्री छन । पानी खाने धारा समेत बाल मैत्री छ । हरेक दिन बिहान बिद्यालय आउने बिद्यार्थीको संख्या कक्षा कोठाको बाहिर ठूलो बोर्डमा राख्ने गरिएको छ । हरेक कक्षाकोठा अगाडि फोहोर संकलनका लागी डस्टबिन राखिएको छ । फोहोरनै मात्र देखिने गरेका सामुदायिक बिद्यालयहरुका लागी यो एउटा ठूलो पाठशाला बनेको छ । यहाँ फोहोर न कक्षाकोठा मा देखिन्छ , न बाहिर कतै ।
बिद्यालय भित्रको यो परिवेशमा एकछिन रम्ने जो कोही लाइ पनि आनन्दित बनाउछ यहाको बातावरणले ।
बिद्यालय अवलोकन गर्न आउने बाहिरी बिद्यालय हरुको संख्या हाल सम्म १ सय ३६ पुगेको छ । अहिले भने बिद्यालय भवन मर्मतका लागि भन्दै बिद्यालयले अवलोकनका लागि आउने टोलीलाइ आउन रोक लगाएको छ ।
प्रधानाध्यापक थापाका अनुसार अवलोकनमा आएका कति बिद्यालयले त मिस्त्री समेत लिएर आएका थिए बिद्यालय र कक्षाकोठाको ढांचा हेर्न । प्रधानाध्यापक विश्व भन्छन्, ‘विद्यालयले बनाएको योजनालाई अभिभावकहरुले कहिले पनि नकार्नु भएन ।
हाम्रो बिद्यालयको सफलतामा विद्यालय व्यवस्थापन समिति र यहाँका अभिभावकहरुको ठूलो हात छ ।’ व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद मिश्रका अनुसार सुरुका दिनमा धान्न निकै अप्ठ्यारो थियो । उनी भन्छन्, ‘शुरुका दिनमा यो अवस्थामा आइपुगिएला जस्तो लागेको थिएन । विद्यालयका शिक्षक शिक्षिकाहरुको मेहेनतले हामी यो स्थानमा आइपुग्यौं । अझ अघि बढन प्रेरणा मिलेको छ ।’
यति मात्र हैन अहिले बिद्यालयमा अक्षय कोष निर्माणका लागी भन्दै अभिभावकहरु बाट रकम आउने क्रम तिब्र छ । तर धेरै रकमलाइ परिचालन गर्न कठिन हुने भन्दै बिद्यालयले दाताहरु बाट आउने रकम पनि लिन रोकेको छ । “रकम को सट्टा भौतिक संरचना आफै बनाइदिन भनेका छौं, त्यसो हुँदा दाताको मन पनि रहने, हामीलाई पनि सहज हुने,” प्रधानाध्यापक थापाले बताए । हाल बिद्यालयमा सात लाख रुपैयाँको अक्षय कोष रहेको छ । बाल सुवोधिनी निमाविको यो मेहेनेत र सफलताबाट अरुले सिक्ने कुरा धेरै रहेको सहायक जिल्ला शिक्षा अधिकारी उद्धव बिष्टले बताए ।
धेरै सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले कक्षामा पढाउन कन्जुस्याईं गर्ने आरोप लाग्ने गरेका बेला बाल सुवोधिनी निमाविको व्यवस्थापन समिति र शिक्षक शिक्षिकाको आपसी छलफल र समझदारीले पनि उक्त विद्यालयले सफलता हासिल गरेको धेरै अभिभावकहरुले बताउने गरेका छन् ।
सफलताका यस्ता कुरा अझै धेरै सुन्न पाईयोस, बालसुबोधिनीलाई अझै धेरै प्रगतिको शुभकामना ।
सम्बन्धित समाचार
विज्ञापन
This will close in 20 seconds