काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन्।
शनिवार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जेठको ७ गते आफूले चौथो पटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुने जिकिर गरे । उनले विश्वासको मत आउँदैन की भन्ने चिन्ता नगर्न आग्रह गरे ।
उनले भने, ‘७ गते फेरि एक पटक विश्वासको मत लिने भनेर संसद सचिवालयमा विश्वासको मतको लागि पत्र पठाएको छु । ७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर काँग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटाँै पटक लिनुपर्ने हो की जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन । कहले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ । एक पटक त झन्डै शतप्रतिशत विश्वासको मत प्राप्त भयो र यो पटक पनि विश्वासको मत प्राप्त हुन्छ । म कुनै दुविधामा छैन, तपाईंहरु पनि दुविधामा पर्नु पर्दैन ।’
प्रधानमन्त्री दाहालले सहकारीसँगको विषयलाई लिएर संसद अवरुद्ध भइरहेको भन्दै आईतवार बिहानसम्म सहज रुपबाट संसद सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताए ।
उनले आफूले संसदको अवरुद्ध हटाउन केही दिन यता छलफल गरिरहेको उल्लेख गर्दै सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताए ।
उनले संसद सहज रुपमा अघि बढेसँगै नीति तथा कार्यक्रम पनि सहज रुपमँ अघि बढ्ने र विश्वासको मत लिन पनि सहज हुने बताए।